प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुवात, गण्डकी ७ विकेटले पराजित

काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको छ । मंगलबार धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको उदघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो ।

गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर गर्‍यो । उसका लागि रेवती धामीले २७ बलमा सर्वाधिक २१ रनमा बनाइन् । उनी अविजित रहिन् । बलिङमा गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनायो । उसका लागि रेखा तामाङले २० बलमा १३ रन, सिर्जना पौडेलले २६ बलमा १०, निरु जिटीले १३ बलमा ७ रन बनाए ।

सुदूरपश्चिमका लागि रेवती धामीले चार, जानकी थापा र रितु कनौजियाले एक-एक विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेकी रेवती धामी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । 

प्रतियोगितामा समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम तथा समूह ‘बी’ मा कोशी, बागमती, मधेस र आर्मी रहेका छन् ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्