पूर्वजले देखाएको बाटोमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

फाइल तस्वीर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएका हुन् ।
‘पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरूको आदर्शबाट सिक्ने र उहाँहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।’
‘योग यस भूमिको उपज, पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो,’ प्रधानमन्त्री ओलीले भने, ‘योगको महत्व अझ बढी प्रखररुपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ रहनु हो, शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनु, स्वस्थ्य रहनका लागि योगअसाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ ।’
विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ । प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोग भूमि भन्न सक्ने उल्लेख छ । ‘आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो,’ उनले भने, ‘त्यसकारण शिवलाई आदियोगी मान्दछौँ । योग आदियोगी शिवबाट शुरू भएको हो । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो ।’