अध्यक्ष लिङ्देनको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणालगायत मागसहित काठमाडौं उपत्यकामा केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।
अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्नेछ। सो बैठकमा आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिनेछ। लिङ्देनले पार्टीका सबै गतिविधि आन्दोलनमुखी बनाइने बताए।
राप्रपाले समान विचार राख्ने समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्य गर्ने नीति लिएको छ।
यसअघि, नवराज सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको थियो। सो समितिमा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सदस्य बनाइएको थियो। तर, लिङ्देनले आफूलाई जानकारी नदिई नाम राखिएको भन्दै सो समितिमा सहभागी नहुने स्पष्ट पारेका छन्।
‘हामी आफ्नो पूर्वनिर्धारित आन्दोलनलाई नै निरन्तरता दिनेछौं’, लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापना र राजनीतिक सुधारका लागि पार्टी एकताबद्ध भएर अघि बढ्छ।’
बैठकले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। अर्थतन्त्र कमजोर हुँदै गइरहेको, भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको र आम जनतामा निराशा बढ्दै गएको भन्दै राप्रपाले प्रणालीगत सुधार आवश्यक रहेको बताएको छ।
पार्टीले ‘नवीन समझदारी’ लाई नै समस्याको समाधानका रूपमा अघि सारेको छ। कुनै पनि राजनीतिक दललाई निषेध नगरी साझा समझदारी निर्माण गर्न राप्रपाले आह्वान गरेको छ।
राप्रपाले आन्दोलन परिचालन मूल समितिको संयोजक लिङ्देनलाई बनाएको छ। आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक योजना बनाइने र चरणबद्ध कार्यक्रम अघि सारिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यस्ता छन् बैठकका निर्णय
१. राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ। राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ।
२. देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशालाई चिर्न संसदका पहिलो र दोश्रो दल सम्मिलित कांग्रेस(एमालेको सरकार पूर्णतस् असफल रहेको राप्रपाको निश्कर्ष रहेको छ। केवल सरकारहरु परिवर्तन हॅुदैमा देशको विद्यमान समस्याहरुको समाधान हुन सक्दैन, प्रणालीगत कमजोरीमा आमूल सुधार अहिलेको आवश्यकता हो। यसका लागि राप्रपाले निरन्तर उठाउॅदै आएको र सबैलाई स्विकार्य हुने ‘नवीन समझदारी’ उपयुक्त विकल्प हो। कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछ।
३. आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी गर्नेछ। यसका लागि सम्बद्ध पक्षलाई राप्रपा हार्दिक आह्वान गर्दछ।