प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै

काठमाडौँ : आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी आज विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र यसलाई पारित गरियोस भने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।
साथै आज अर्थमन्त्रीले आर्थिक विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि विचार गरियोस भने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यसअघि बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।