समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको अध्यक्ष ओलीको आरोप

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा एकीकृत समाजवादीले बार्गेनिङ गरिरहेको बताएका छन्। एमाले संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको बताएका हुन्।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर त्यसको पुष्टि गरेको भन्दै उनी आक्रोशित बने। ओलीले भने,‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रमा भएपनि कदम चाल्यो। आन्तरिक रुपमा बोली व्यवहार, बार्गिनिङ त त्यस्तै खालका छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो। यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने तर कांग्रेस केन्द्रित समिकरणबाट सहकार्य गरेर नागरिक उन्मुक्तिलाई नै समर्थन गरेको छ।’

उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको दाबी गरे। ओलीले भने,‘ कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको छ। तर, यसले केहि फरक पार्दैन। हामी अगाडि बढ्नुपर्छ। राष्ट्रिय शक्तिको रुपमा एमालेलाई निर्णायक शक्तिको रुपमा अगाडि बढाउनुपर्छ। मिसन ८४ सफल बनाउनुपर्छ।’

उनले समाजवादको आधार तय गरेर सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यमा पुग्न लागि पर्नुपर्ने बताए। ओलीले मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भएपनि नयाँ समीकरण बनाएको स्पष्ट पारे। उनले कुनै पनि मन्त्रालय महत्वहीन नहुने भएकाले जनतामाझ काम गरेर देखाउनुपर्ने धारणा राखे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?