सुदूरपश्चिममा मन्त्रालय फुटाएर मन्त्रीलाई जिम्मेवारी

काठमाडौं : सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ। आइतबार प्रदेशका चार मन्त्रालय फुटाएर बिनाविभागीय पाँच जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकीएको हो।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइएर अरू चार वटा मन्त्रालय बनाइएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेका थिए। अब भने मुख्यमन्त्री तथा परिषद्को कार्यालयसहित ११ मन्त्रालय बनाइएको छ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सचिवालयका अनुसार चार वटा मन्त्रालय फुटाएर बिनाविभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको हो।

जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री सोडारीले बताए।

यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्