राष्ट्रिय सभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०७९/८०’ सभासमक्ष पेश गरेका थिए ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महशुल विधेयक, २०८१’ प्रमाणिकरण गरी पठाइएको जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष दाहालले नेकपा(एमाले)की सांसद शारदादेवी भट्टले प्रयोग गरेको शब्दहरुलाई सदनको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

गत असार २० गते बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा(एमाले)की सांसद शारदादेवी भट्टले प्रयोग गरेको शब्दहरु प्रति नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारबाट नियमापत्ति गरे पछि अध्यक्ष दाहालले उक्त विषयमा अध्ययन गर्न सचिवालयलाई दिएको दिएका थिए ।

सोही अध्ययन बमोजिम अध्ययन गर्दा सांसद भट्टले ‘लुला लंगडा’ भन्ने शब्दहरु प्रयोग गरेको पाइएको र उक्त शब्दहरु राष्ट्रिय सभा नियमावली, २०७५ विपरित रहेको बताउँदै अध्यक्ष दाहालले उक्त शब्दहरुलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले प्रादेशिक सरोकार समयमा बोल्दै मुलुकभरका प्राकृतिक विपत्ती र समसामयिक विषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रादेशिक सरोकार समयमा सांसदहरु सोनाम गेल्जेन शेर्पा, उर्मिला अर्याल, कृष्णबहादुर रोकाय, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, बिष्णुबहादुर विश्वकर्मा, किरणबाबु श्रेष्ठ, उदयबहादुर बोहोरा, सुरेशकुमार आलेमगर र तुलसाकुमारी दाहालले समेत बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही साउन ७ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्