बागमतीमा मुख्यमन्त्री लामासहित १० मन्त्रीले लिए सपथ

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका लामाको बुधबार सपथ ग्रहण गरेका हुन् । बुधबार नै मुख्यमन्त्री लामासहित प्रदेशको १० मन्त्रालयको मन्त्रीहरूको पनि सपथ लिएका छन् ।
लामालाई मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलो पटक सरकारको नेतृत्व गरेको हो ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा एमालेले ६ वटा मन्त्रालय पाएको छ भने काँग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय पाएको छ ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी, किरण थापाले स्वास्थ्य, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकाश र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास
मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । कुन्दन राज काफ्ले, श्याम बहादुर खड्का र मधुकुमार श्रेष्ठलाई जिम्मेवारी पछि तोकिने गरि मन्त्री नियुक्त भएका छन् ।
नियुक्त भएका सबै मन्त्रीहरुले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।