बाग्मतीका मुख्यमन्त्री लामा आज विश्वासको मत लिँदै

काठमाडौँ : बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार सदनबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

पहिलो पटक कांग्रेसको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेको सहयोगमा लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलसँग ६४ मत रहेको छ । जुन विश्वासको मतका लागि पर्याप्त हो । सभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । प्रदेशमा विश्वासको मतका लागि ५६ सांसद पक्षमा भए पुग्छ ।

कांग्रेस र एमालेबाहेक विश्वासको मतको विषयमा अन्य दलले भने निर्णय गरिसकेका छैनन् । केन्द्रीय समीकरण अनुसार नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा, हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री लामाको विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ ।

सदनमा माओवादीको २१, राप्रपा १३, नेकपा एस ७, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीको २ मत रहेको छ । मुख्यमन्त्री लामाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वानसमेत गरेका छन् ।

सहजै विश्वासको मत पुग्ने भएका कारण मुख्यमन्त्रीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिइसकेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्