कर्णाली योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त
काठमाडौँ : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४ निवासी योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले लामो समयसम्म रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगलाई पूर्णता दिएको हो। कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ख) र (ग) मा व्यवस्था भएअनुसार उपाध्यक्ष र सदस्य पदमा दफा १२ बमोजिम आयोग गठन गर्ने निर्णयसँगै उपाध्यक्ष सहित दुई जना सदस्यहरूको पनि नियुक्त गरेको छ।
आयोगको सदस्यहरूमा मुगुको छायाँनाथ रारा नगरपालिका-५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका-३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त भएका छन्। उनीहरूको आज बिहीबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खाएका छन्।