बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकार नेतृत्वको सपथ ग्रहण

काठमाडौँ : नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । 

उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । 

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उनको भूमिकाको सपथ गराए । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।

अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ ।

यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए । बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । 

सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस उनलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लािग फ्रान्सको राजधानी पेरिसमा थिए । उनलार्इ कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किए। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्