सुदूरपश्चिममा संसद‍् अधिवेशन आह्वान

काठमाडौँ : सुदूरपश्चिममा विशेष अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

यसअघि निवर्तनमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार ३० गते बजेट अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख मियाँले साउनको ४ गते बजेट अधिवेशन अन्त्य गरेका थिए । तर, सोडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको थाहा पाएपछि कांग्रेस र एमालेका एक चौथाइ सांसदहरूले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।

विशेष अधिवेशन बाढीपहिरो प्रभावितहरूलाई राहत,क्षतिपूर्ती दिन सरकारलाई निर्देशन गर्दै साउन २३ गते अन्त्य गरिएको थियो । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनका लागि मात्रै ‘सुदूरपश्चिमको सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ ल्याएको थियो ।

उक्त अध्यादेश बिहीबार प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि करसंकलनको कार्य सुरू भइरहेको छ । पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने सम्भावना पनि रहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्