सहकारी ठगीमा प्रमाण अनुसार कारबाही हुन्छ, धनराजजीमाथि पनि अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गरेका छन्  ।

नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कारवाही प्रक्रियामा कतै आग्रह, पूर्वाग्रह नराखिएको प्रष्ट पारेका हुन् । 

“सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उनले भने, “कतै राजनीतिक आग्रह-पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।” सहकारी आन्दोलनलाई बलियो बनाउन कामकाजी अनुगमन संयन्त्र निर्माण, ऐन, कानुनहरुमा सुधार आवश्यक परेमा त्यसो पनि गरिने उनले बताए  । 

पत्रकारका प्रश्नहरुको जवाफ दिँदै उनले अनुसन्धानका क्रममा कसैलाई जोगाउने र कसैलाई फसाउन भन्ने हुनै नसक्ने उल्लेख गरे । “यहाँहरुको सोधेको धनराजजी(धनराज गुरुङ)माथि पनि अनुसन्धान हुन्छ । तथ्य, प्रमाणले दोषी देखिए उहाँमाथि पनि कारबाही हुन्छ ,” उनले भने  ।

देशैभर सहकारी खोली सङगठित रुपमा ठगी गर्ने जिबी राईको खोजीमा पनि सरकार लागिरहेको उहाँले बताए । “हालै सार्वजनिक भएको जिबी राईको इमेलबारे पनि अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । जिबी राईको विषयमा पनि काम भइरहेको छ, परिणाम आइनसकी धेरै कुरा भन्न मिलेन ।”

सहकारीहरुमा लाखौं बचतकर्ताको अरबौं अपचलन भएको उल्लेख गर्दै गृहमन्त्रीले संसदीय छानबिन समितिको निर्देशनबमोजिम अनुसन्धान अघि बढाइएको प्रष्ट पारे  । उनले आउने संसद अधिवेशनबाट नयाँ सशस्त्र प्रहरी ऐन र नेपाल प्रहरी ऐन पारित गर्ने तयारी भएको सुनाए । 

“सङ्घको प्रहरीलाई नयाँ ऐनमार्फत् व्यावसायिक, क्रियाशील र चुस्त बनाउनु जरुरी छ भने प्रदेशमा पनि प्रदेश प्रहरी बनाउनुछ,” उनले भने, “यसका लागि आउँदो अधिवेशनबाट ऐनहरु पारित गर्ने हाम्रो तयारी छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्