खानेपानी मन्त्री यादवद्वारा वीरगञ्ज कारागारको निरीक्षण, पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन
काठमाडौं : नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको निरीक्षण गर्दै त्यहाँ रहेका कैदी बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा र उनीहरूले भोगिरहेका समस्याहरूको प्रत्यक्ष जानकारी लिएका छन् । शनिवार बिहान कारागारको अनुगमन गर्न पुगेका मन्त्री यादवले कैदीहरूसँग संवाद गर्दै,त्यहाँको कठिनाइहरूबारे सुन्नुका साथै तुरुन्तै सुधारका लागि पहल गर्ने वाचा गरेका हुन् ।
कैदीहरूले कारागारमा शौचालयको अभाव, विद्युत् आपूर्तिमा असुविधा, खानेपानीको कमी, र महिला कैदीहरूको लागि जीर्ण भवनको अवस्था जस्ता समस्या राखेका थिए । महिला कैदीहरूले आफ्नो बसोबास स्थान असुरक्षित र अस्वास्थ्यकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरू सुधार गर्न आग्रह गरे ।
मन्त्री यादवले कैदीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिदै भने, “कारागारमा रहेका प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउनु पर्छ । विशेष गरी महिला कैदीहरूको लागि शौचालय, बसोबास, र खानेपानीको उचित व्यवस्थापन प्राथमिकताका साथ गरिनेछ । यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारात्मक कदम चाल्नेछौँ ।” उनले महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिई कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन समेत दिए ।
अनुगमन कार्यक्रममा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कारागार सुधारमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने , “महानगरपालिकाले महिला कैदीहरूको स्वास्थ्य, सरसफाइ, र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न तत्पर छ । महिला कैदीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन स्थानीय तहले राज्यका अन्य निकायहरूसँग सहकार्य गर्नेछ ।”