कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौं : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट  राजीनामा दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष मन्त्री अधिकारीले दिएको राजीनामा आजै स्वीकृत गरेका हुन् । 

प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी नदिई जापानको टोकियो महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कात्तिक १३ गते सुटुक्क जापान जानुभएका अधिकारीलाई मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

मन्त्रीको जापान भ्रमणको विषयमा स्थानीय सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिन मन्त्री अधिकारीलाई निर्देशन दिएका थिइ । राजीनामा दिएलगत्तै कानुन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको जानकारी गराए ।

जापान जाने क्रममा हङकङमा ट्रान्जिट हुँदा मन्त्रीको सचिवालयको परिचय पत्र बोकेका तीन जना व्यक्तिहरूले आफूहरू पनि सोही कार्यक्रममा सहभागी हुन लागेको भन्दै परिचय दिएको र उनीहरूसँग जापान पुगेको मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘‘यहाँबाट म एक्लै जापानका लागि गएको थिएँ, हङकङ पुगेपछि तीन जना युवाहरू मसँग भेट गर्न आए, उनीहरूले मेरै मन्त्रालयको परिचय पत्र बोकेका थिए, त्यसपछि मेरो मनमा चिसो पस्यो र त्यहीँबाट फर्किन खोजेँ तर मिलेन, त्यसपछि जापान पुगेर नेपाल प्रहरीलाई जानकारी दिएँ र विमानस्थलबाटै पुनः नेपाल फर्किएँ ।’’

मन्त्री अधिकारीले खोटाङका जनक राई, दावा शेर्पा र देवकोटा थरका एक जना व्यक्तिले मन्त्रालयको नक्कली परिचय पत्र बोकेको बताए । मन्त्री अधिकारीले आफ्नै सूचनाका आधारमा नेपाल फर्किएका तीनै जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए ।

पक्राउ परेकाहरूको बारेमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाइसकेको छ । मन्त्री अधिकारीले अनुसन्धानमा सहयोग पुर्‍याउन नैतिकताका आधारमा आफूले पदबाट राजीनामा दिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्