परराष्ट्रमन्त्री राणाद्धारा छन्दुस्थित महावाणिज्यदूतावासको निरीक्षण

काठमाडौँ :परराष्ट्रमन्त्री राणाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन्। त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरूले स्वागत गरेका थिए। मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूताबासका काम कारबाहीका बारेमा जानकारी गराएका थिए।

उनले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्तरूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिएकी थिइन्।

यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्धन हुनुका साथै दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको पनि उनले बताइन्। उनले नेपाली चिया,कफी,औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न पनि निर्देशन दिइन्।

त्यस अवसरमा मन्त्री राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक,सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन्। महावाणिज्यदूताबासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा।कृष्णप्रसाद ओलीलगायतको सहभागी थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु प्रस्थान गरेकी हुन्। उनले आज सिचुवान प्रान्तको छेन्दुमा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला उठाउनुपर्ने मुद्दाका बारेमा विदेशमन्त्री यीसँग छलफल गर्नेछिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?