संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं : बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमबार बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सिन्धुलीमा आयोजित जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा गोष्ठीमा बोल्दै सांसद श्रेष्ठले  प्रदेशको सवलीकरण गर्नुपर्नेमा जोड दिएका हुन्  । 

सांसद श्रेष्ठले आ.व. २०८२/०८३ को बजेट निर्माण गर्दा सरकार र जनप्रतिनिधिहरुले मतदाता केन्द्रीत मानसिकता त्याग्नुपर्ने बताए । उनले विधायकले विकासको भारी बोक्ने नभई राम्रो नीति निर्माणमा केन्द्रित बन्नुपर्ने बताए । उनले पहुँचको आधारमा नगरेर आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए । त्यसका लागि योजना बैंकमा योजना संकलन गर्ने, प्रदेश नीति तथा योजना आयोगले सिफारिस गरेको योजनालाई मात्र समावेश गर्नुपर्नेमा उनको जोड छ ।

सांसद श्रेष्ठले अध्ययन, अनुसन्धान गर्नका लागि पनि समग्र बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए । बजेटको ४० प्रतिशत पुँजीगततर्फ विनियोजन गर्नुपर्ने उनले बताए । त्यस्तै टुक्रे योजनामा नभई रणनीतिक योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । त्यसैगरी, उनले राज्य, नीजि र सहकारी क्षेत्रको लगानीको प्रतिशत निर्धारण गर्नुपर्ने उनले बताए । उनले उत्पादन र सेवासँग नजोडिने भौतिक पूर्वाधारमा लगानी गर्नु नहुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्