कांग्रेस सभापति देउवाद्वारा म्याग्दी महोत्सव उद्घाटन

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गरेका हुन्। 

जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो। 

महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाउनुहुने विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आउनुभएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन्।  

महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरण टाँगेर झिलिमिली बनाइएको छ। महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ। महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। 

महोत्सवमा विद्यालयको नवप्रवर्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ। १० करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्