लामिछानेका विषयमा आज जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुँदै

काठमाडौँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो।

तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए। हाल लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।

सोमबार पुनः अदालतमा पेस गर्ने गरी लामिछानेलाई काठमाडौैं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाइदिएको थियो। आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश दिएको थियो।

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो।  सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनी इजलासमा उठाएपछि न्यायाधीशले सो आदेश दिएका थिए ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा लामिछाने रिहा भएका थिए। लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा सो मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका हुन् ।

परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश माधवप्रसाद अधिकारीसँग आग्रह गरिएको थियो । न्यायाधीश अधिकारीले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा लगाएका थिए।  आज सोमबार बिहान ११ बजेबाट थुनछेक बहस शुरू हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्