यो सरकार आफैँ ढल्छ, हामीले बल गर्नै पर्दैन : अध्यक्ष दाहाल

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष  दाहालले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्‍याए । 

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको बताए । ‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन्’, उनले भने, ‘प्राय पहिलो र दोस्रो ठुलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने ।’ उनले लोकतन्त्रमा पहिलो दलले सरकार बनाउने र दोस्रोले खबरदारी गर्नुपर्ने बताए । 

उनले वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठुलो दबाब परेको पनि बताए । ‘अन्तिम समयसम्म संविधानको उपधारा ३ मा सरकार बनाउन तयार हुनुहुन्थ्यो राष्ट्रपतिजी, तर राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि निकै ठुलो धर्मसंकटमा परियो । त्यसो भएपछि उहाँले थाहा पाएरै’, उनले भने, ‘तर हामी तुरुन्तै यो सरकार गिराउने र सरकारमा जाने भनेका छैनौँ ।’

सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको पनि अध्यक्ष  दाहालले बताए । ‘अहिले हामीले पनि रिल्याक्स गरेका छौँ । प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरेको छु’, दाहालले  भने, ‘जनताको विश्वास, भरोसा र माया पनि बढेको महसुस हुन्छ ।’

यसो भन्दै गर्दा यो सरकार टिकिराखोस् भन्ने चाहाना आफूले नराखेको प्रचण्डले बताए । ‘अप्राकृतिक भएकाले यो सरकार अन्ततः ढल्नु नै छ । हामीले धेरै बल गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो लाग्दैन’, उनले भने, ‘मैले मिति तोक्नु त ठिक नहोला तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।’

साथै उनले सरकार जसरी चलेको छ त्यसले पनि सरकारको आयु छोट्याउँदै लगेको बुझ्न सकिने बताए । 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्