उपराष्ट्रपति यादव र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेटवार्ता

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र चासोका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र इजरायलबिच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर दुई पक्षीय सम्बन्धन रही आएकोमा सन्तोष व्यक्त गरे। 

‘‘इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’’ उनले भने, ‘‘नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’’ उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुनु आवश्यक रहेको बताए । 

उपराष्ट्रपति यादवले भने, ‘‘इजरायल सरकारले नेपाली युवा ९खासगरी महिला० लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु।’’ उनले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधै रहिआएको बताए । 

उपराष्ट्रपति यादवले विपिन जोशीलाई छुटाउन इजरायल सरकारको तर्फबाट पहल भइरहेको छ भन्ने विश्वास समेत व्यक्त गरे । उनले इजरायलको ७६औं स्वतन्त्रता दिवसको अवसरमा इजरायली सरकार तथा इजरायली जनतालाई बधाई तथा शुभकामना व्यक्त गरे । 

नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले नेपाल र इजरायलबिच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौयता सुमधुर र प्रगाढ रहेको बताए । ‘‘जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ’’ उनले भने, ‘‘इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम छ ।’’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्