सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा

काठमाडौँ l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई पनि रिहा गरिएको छ।
ली जियालिङ र लिउ फुयान नाम गरेका चिनियाँ नागरिकलाई शुक्रबार बिहान ९ बजेतिर हिमालयन एयरको जहाजबाट चीन जान लाग्दा राजश्व अनुसन्धान विभागको आग्रहअनुसार अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सीआईबीलाई बुझाएको थियो।
तर उक्त प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले आज बिहान ११ बजेतिर उनीहरूलाई छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता डीआईजी कुवेर कडायताले जानकारी दिए।
‘अध्यागमनले पक्राउ गरेर हामीलाई बुझाए पनि जुन घटनाका लागि उनीहरूलाई पक्राउ गरिएको थियो, त्यसमा उनीहरूको संलग्नता देखिएन’, डीआईजी कडायताले भने, ‘उनीहरूलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिएकाले रिहा गरिएको हो।’
सोही प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई पनि आजै बिहान छाडिएको छ।