संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न गरेको अध्यक्ष नेपालको टिप्पणी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन।’ अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे। उनले भने, ‘केही विमति छन्। कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन।’ देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए। समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए। उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए।

वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए। एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए। नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनले बताए। उनले भने, ‘कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ।’ अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए।

पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताउनुभयो । दलले जनताको मन जित्न आवश्यक रहेको उनको भनाइ थियो। पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको उनको भनाइ थियो।

 एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र आज सम्पन्न भएको छ। बिहीबार बिहानबाट बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा ४४० जना प्रतिनिधि सहभागी हुने पार्टीका प्रचार विभाग संयोजक विष्णुराज महतोले जानकारी दिए। अधिवेशनले दुई वर्षे कार्यकालका लागि ६४ सदस्यीय जिल्ला कार्य समिति चयन गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्