जेठ २ भित्रछात्रवृत्तिको विवरण पठाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण जेठ २ भित्र अनिवार्य पेश गर्न महानगरभित्रका सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जनाएका हुन् । नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ । महानगरले तयार गरेको अनलाइन प्लाटफर्ममा सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण सम्बन्धित विद्यालयलाई उपलब्ध गराइएको युजर नेम र पासवर्ड बाट लग इन गरि पेस गर्न सकिनेछ । 

विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टमा कक्षागत रुपमा जम्मा विद्यार्थी भर्ना संख्या र १० प्रतिशत ले हुन आउने कक्षागत छात्रवृति संख्या तथा छात्रवृति पाउने सम्पूर्ण विद्यार्थी हरुको विवरण भर्नु पर्नेछ । सबै विवरण प्राप्त भएपछि महानगरले छात्रवृत्तिको सूची सार्वजनिक गर्ने जनाएको छ ।

महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्