काठमाडौँ : देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
बिज्ञापन
१- प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- ‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहको यो अभिव्यक्ति अहिले भइरहेको न्यायालयको विवादतर्फ इंगित रहेको विश्लेषण गरिएको छ ।
बिज्ञापन
२- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विभिन्न सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि गरिएको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार इन्सेकले विज्ञप्ति जारी गर्दै कार्तिक १३ गते पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको र नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रकाशित समाचारको विषयवस्तुलाई लिएर कसैको असहमति भए कानुनी उपचारका बाटाहरू खुला हुँदाहुँदै प्रहरी प्रशासनबाट सञ्चार गृहमाथि नै धरपकड हुनु र पत्रकारहरूलाई त्रसित पारिनु लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको इन्सेकको ठहर छ।राज्यका निकायहरूबाट हुने हरेक कार्यको संस्थागत जवाफदेहिता सरकारले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विगत केही समयदेखि अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधिहरू बढिरहेका सन्दर्भमा सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता व्यवहारमै पुष्टि गरेर देखाउनु पर्ने पनि इन्सेकले उल्लेख गरेको छ । इन्सेकले भनेको छ- ‘नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ। संविधानले प्रत्याभूत गरेका हकहरू लोकतान्त्रिक शासन व्यवस्थाका आधार स्तम्भ हुन्। संविधान प्रदत्त अधिकार बरखिलाप हुने यस्ता कार्यहरूको हामी विरोध गर्दछौं। घटनाको सत्य तथ्य जानकारी गराउन भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितताको माग गर्दछौं ।’
३- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल विद्यार्थी संघको अध्यक्षमा सृजना मल्ललाई मनोनीत गरेको छ । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवशेन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेबिसंघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको जानकारी दिएका छन् । पार्टीको विधानको धारा ४२(१) बमोजिम विद्यार्थी संघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको पत्रमा उल्लेख छ । मल्ललाई आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
४- इजरायलका विपक्षी नेता गादी आइजनकोटले नयाँ सरकार गठनका लागि चार सर्त अघि सारेका छन् । उनका सर्तमा इजरायललाई यहुदी तथा लोकतान्त्रिक राष्ट्रका रूपमा कायम राख्ने, सबै नागरिकका लागि सैन्य वा राष्ट्रिय सेवा अनिवार्य गर्ने, सन् १९४८ को स्वतन्त्रता घोषणाका सिद्धान्त पालना गर्ने र गाजाबाट हमासको शासन अन्त्य गर्ने विषय समेटिएका छन् । आइजनकोटले यी सर्त स्वीकार गर्ने दललाई गठबन्धनमा सहभागी हुन सक्ने बताएका छन् । अक्टोबर २७ मा भएको निर्वाचनमा कुनै पनि गठबन्धनले बहुमत नल्याएपछि सरकार गठनका लागि १२० सदस्यीय संसद्मा कम्तीमा ६१ सिट आवश्यक छ । उनको दल याशारले २१ सिट जित्दै विपक्षी दलमध्ये सबैभन्दा धेरै सिट हासिल गरेको छ । आइजनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउन अन्य दलसँग छलफलमा जुटेका छन् । उनले विशेषगरी हालसम्म सैन्य सेवाबाट छुट पाउँदै आएको अति धार्मिक हरेदी समुदायलाई पनि अनिवार्य सेवामा समेट्नुपर्ने बताएका छन् । यसैबीच, याशारले नेतान्याहुको लिकुड पार्टीमाथि आफ्ना सांसदलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेको आरोप लगाएको छ । लिकुडका नेताहरूले फोन गरेर सांसदलाई नेतान्याहुको समर्थन गर्न आग्रह गरिरहेको याशारको दाबी छ ।
५- न्युजिल्यान्डले पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । आइतबार, ह्यामिल्टनमा भएको खेलमा भारतले दिएको १९२ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो । हारका बाबजुद भारतले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ । शृङ्खलाको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । दोस्रो खेल पनि भारतले ४ विकेटले जितेको थियो । तेस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको थियो । चौथो खेलमा भने न्युजिल्यान्डले भारतलाई ८७ रनले पराजित गर्दै शृङ्खलामा फर्किएको थियो । अन्तिम खेल पनि जित्दै न्युजिल्यान्डले लगातार दुई खेलमा सफलता हासिल गरे पनि शृङ्खला भारतले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा न्युजिल्यान्डको जितमा टिम साइफर्टले ५० बलमा ९३ रन बनाए । ग्लेन फिलिप्सले अविजित ६५ रनको योगदान दिए। भारतका अर्शदीप सिंह, वरुण चक्रवर्ती र नितीश रेड्डीले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाएको थियो। भारतका इशान किशनले ३२ बलमा ६१ र कप्तान श्रेयस अय्यरले २३ बलमा ५० रन बनाएका थिए । न्युजिल्यान्डका एडम मिल्नेले चार विकेट लिए ।
६- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् । पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संघीयता कार्यान्वयनमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका छन् । भेटमा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बीच प्रदेशको विकास र स्थिरताका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै संवैधानिक तथा कानुनी व्यवस्था व्यवस्थित बनाउन खापुङले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ ।
७- धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ । नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण कार्य गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो । प्रशासनले उक्त समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।
८- नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारलाई अब शंकाको लाभ नदिने बताएका छन् । आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले सरकार बनेको ७-८ महिना नयाँ भनेर शंकाको लाभ दिएको भएपनि अब नदिने स्पष्ट गरे । उनले सम्बेदनशील विषयमा भइरहेका अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह गर्दै अनुसन्धानमा सेलेक्टिभ नहुन चेतावनी दिए । उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए । उनले विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने र जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने- ‘यसको गहिराइसम्म अनुसन्धान होस्। जो–जो संलग्न हुन्छन्,दोषीमाथि कारबाही होस् । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ ।’ सभापति थापाले अहिले उठिरहेका विषयमा आफुहरुले विभिन्न राजनीतिक दल, नागरिक समाज र युवाहरुसँग छलफल अगाडी बढाउने बताए ।
९- बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फार्स फिल्म्सले उक्त अधिकार खरिद गरेको हो । यसलाई भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो विदेशी प्रदर्शन अधिकार सम्झौता बताइएको छ । सम्झौताअनुसार फिल्मले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारमा मात्रै ३५० देखि ३७५ करोड भारतीय रुपैयाँ कमाउनुपर्नेछ । यसअघि कुनै पनि भारतीय फिल्मको विदेश प्रदर्शन अधिकार १०० करोड रुपैयाँसम्म पुगेको थिएन । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर र अरशद वारसीको अभिनय रहनेछ। यस फिल्मबाट सुहाना खानले ठूलो पर्दामा पदार्पण गर्नेछिन् । फिल्म आगामी क्रिसमसमा प्रदर्शन गर्ने तयारी छ । शाहरुख यसमा नयाँ अवतारमा देखिनेछन् भने अभिषेक बच्चन खलनायकको भूमिकामा रहने बताइएको छ ।
१०- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् । सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताएका छन् । यसैगरी, कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । साउनमा ८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति एक महिनामा ७ प्रतिशतले बढेको हो । वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका छवटा बोलपत्र आह्वान गरिसकेको छ । रानी जमरा कुलरिया आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाले पनि पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।
११- जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् । ‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए । दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेका थिए । प्रहरीका अनुसार प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीलाई निशाना बनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । फ्र्याङ्कफर्टको मुख्य किनमेल क्षेत्रमा प्रहरीले आवागमनसमेत बन्द गरेको थियो। घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजारसम्म मानिस सहभागी भएका थिए । अभियानकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने तथा अनिवार्य सैन्य सेवाको भार न्यायोचित रूपमा बाँड्नुपर्ने मागसमेत राखेकी छन् । जर्मनीमा भएको प्रदर्शन फ्रान्समा हालै भएका युवाको नेतृत्वका प्रदर्शनपछि भएको हो । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए । युरोपका विभिन्न देशमा बढ्दो महँगी, सरकारी नीतिप्रति असन्तुष्टि र युवाका समस्या विरोध प्रदर्शनको मुख्य विषय बन्दै गएका छन् ।
१२- दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले अहिलेसम्म १७ दिनमा विश्वभरबाट ७९०.८५ करोड भारु कमाइ गरेको छ । यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले भारतीय बक्स अफिसमा ४४४.७५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २७०.५ करोड भारु कमाएको छ । चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ । ‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो ।
१३- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ । केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन् । प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । लगातारको हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हेलिकोप्टरको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिएको प्रशासनले जनाएको छ ।
१४- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् । त्यस्तै, बढ्दो प्राकृतिक विपत्ति, युवाको निरन्तर विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दै गएको निराशाले पनि संकटको संकेत गरिरहेको उनको भनाइ छ । भट्टराईले देशले अब कुनै पनि बहानामा अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर हुन आग्रह गरेका छन् । उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले नकारात्मक काम नगर्नसमेत अपिल गरेका छन् । उनले भनेका छन्- ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ! अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन ! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं ! सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं !’
१५- बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालको मौसम विश्लेषण गर्दा उक्त चक्रवातका कारण नेपालमा तत्काल उल्लेखनीय मौसमी परिवर्तन हुने देखिएको छैन । महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप मौसमी सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने पनि महाशाखाले स्पष्ट पारेको छ । महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमान नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३८२५ रुपैयाँमा कारोबार भएको थियो ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ । पार्टी महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको हो । गठित उपसमितिअन्तर्गत उम्मेदवार क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि उम्मेदवार क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ । पार्टीले उपसमितिहरूमार्फत उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने तयारी गरेको छ ।
१८- विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्सले ह्याकिङमार्फत चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ । बाँकी १० प्रतिशत रकम आवश्यक परिमाणमा जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ । बिहीबार भएको ह्याकिङबाट ठूलो परिमाणमा डिजिटल सम्पत्ति चोरी भएपछि बाइनान्सले प्रयोगकर्ताको कुनै पनि रकम गुम्न नदिने प्रतिबद्धता जनाएको थियो । कम्पनीले आफ्नै कोषबाट ६ अर्ब ३४ करोड अमेरिकी डलरभन्दा बढी रकम छुट्याएर क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । कम्पनीले चोरी भएको रकमको आर्थिक भार प्रयोगकर्ताले नभई आफूले व्यहोर्ने स्पष्ट पारेको छ । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले शनिबार उक्त ह्याकिङमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएको छ । यसअघि दुईवटा अनुसन्धान संस्थाले पनि उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘लाजरस ग्रुप’ को संलग्नता हुन सक्ने बताएका थिए । उक्त समूहलाई ‘ट्रेडर ट्रेटर’ नामले समेत चिनिन्छ । उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । बाइनान्सका अनुसार चोरी भएका बिटक्वाइन, इथेरियम, टिथरलगायत सात अन्य लोकप्रिय क्रिप्टोकरेन्सीको रकम पूर्ति गरिएको छ । कम्पनीले आफ्नै कोष तथा विभिन्न स्रोतबाट रकम जुटाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर चोरी गरिएको आशङ्का गरिए पनि थप अनुसन्धानका क्रममा आक्रमणका अन्य कमजोरीसमेत फेला परेको कम्पनीले जनाएको छ । बाइनान्सका सहकार्यकारी प्रमुख रिचर्ड टेङले एकभन्दा बढी व्यक्तिको संलग्नतामा अत्याधुनिक प्रविधि प्रयोग गरी ह्याकिङ गरिएको बताएका छन् । कम्पनीले प्रहरी तथा अन्य अनुसन्धान निकायसँगको सहकार्यमा चोरी भएको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरिसकेको जनाएको छ । अब प्रयोगकर्ताका लागि रकम झिक्ने सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको र नोभेम्बर १ आइतबारदेखि सेवा खुलाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । अमेरिकी गोप्य सेवाले पनि चोरी भएको रकम पहिचान, रोक्का र फिर्ता गर्न निजी क्षेत्रका साझेदारसँग मिलेर काम गरिरहेको बताएको छ । यो घटना क्रिप्टोकरेन्सी क्षेत्रकै अहिलेसम्मको सबैभन्दा ठूलो ह्याकिङ मानिएको छ । यसअघि सन् २०२५ मा बाइबिट कारोबार केन्द्रबाट १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको थियो । उक्त घटनामा पनि अमेरिकी अनुसन्धान ब्युरोले उत्तर कोरियालाई जिम्मेवार ठहर गरेको थियो । सन् २०१७ मा चीनमा स्थापना भएको बाइनान्सका विश्वभर करोडौँ प्रयोगकर्ता रहेको अनुमान छ ।
१९- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेसलाई ६–१ गोलले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामालले दुई–दुई गोल गरे भने फर्मिन लोपेज र एन्थोनी गोर्डनले एक–एक गोल गरेका थिए । आल्भेसका लागि मारियानो डियाजले एक गोल फर्काएका थिए । खेलको आठौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले गोल थपेपछि बार्सिलोनाले मध्यान्तरसम्म ४–० को आरामदायी अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि बार्सिलोनाको आक्रमण रोकिएन । खेलको ६४औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ५–० पुर्याए । सुरुमा अफसाइडका कारण गोललाई मान्यता नदिइए पनि भिडियो सहायक रेफ्रीको पुनरावलोकनपछि गोल सदर भएको थियो । खेलको ८१औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्थोनी गोर्डनले गोल गर्दै बार्सिलोनालाई ६–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि आल्भेसका मारियानो डियाजले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस जितसँगै बार्सिलोना ११ खेलबाट ३० अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २८ अंक छ । पराजित आल्भेस १२ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ ।
२०- अमेरिका र इरानबीचको तनाव फेरि बढ्दै गएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सेनाका वरिष्ठ कमान्डरहरूलाई कुनै पनि सुरक्षा चुनौतीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । शत्रु पक्षबाट जुनसुकै प्रकारको खतरा उत्पन्न भए पनि भौगोलिक सीमाको परवाह नगरी जवाफी कारबाही गर्न उनले आदेश दिएका हुन् । सशस्त्र बलका वरिष्ठ अधिकारीहरूसँगको बैठकमा खामेनीले सेनालाई सबै प्रकारका चुनौती सामना गर्न तयार रहन निर्देशन दिएका थिए । शत्रुले पुनः सैन्य वा आतङ्ककारी आक्रमण गरे त्यसको जवाफ कसरी र कहिले दिने भन्ने निर्णय इरानी सेना र जनताले गर्ने उनको भनाइ थियो । उनले देशको सुरक्षा सुनिश्चित गर्न सैन्य तयारी र प्रतिरोध क्षमता मजबुत बनाउन पनि जोड दिएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न अमेरिकालाई कुनै हतार नभएको बताएका छन् । उनले इरान वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै आर्थिक संकटका कारण त्यहाँ सेना र प्रहरीलाई तलब दिनसमेत कठिन भइरहेको बताएका छन् । करिब सात महिनादेखि जारी युद्धमा समय अमेरिकाको पक्षमा रहेको भन्दै उनले हतारमा निर्णय नगर्ने बताएका छन् । अर्कोतर्फ, दुई देशबीच तनाव कम गर्न कूटनीतिक प्रयास पनि जारी छ । प्रस्तावित सम्झौतामा इरानको उच्च संवर्धित युरेनियम तेस्रो देशमा पठाउने वा त्यसको संवर्धन स्तर घटाउने विषय समेटिएको छ । प्रारम्भिक सहमति भएको सात दिनभित्र रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला गर्ने प्रस्ताव पनि अघि सारिएको छ । सम्झौता कार्यान्वयनमा चीनले प्रत्याभूतिकर्ताको भूमिका खेल्न सक्ने बताइएको छ । अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताका लागि टर्कीको इस्तानबुलको सट्टा कतारको राजधानी दोहा सम्भावित स्थानका रूपमा अघि सारिएको छ । प्रस्तावित सम्झौताअनुसार इरानले आफ्नो आणविक कार्यक्रम र समुद्री सुरक्षासम्बन्धी विषयमा सहमति जनाए अमेरिकाले आर्थिक प्रतिबन्ध, नाकाबन्दी र अन्य पाबन्दीमा राहत दिन सक्नेछ । सम्झौता कार्यान्वयनको अनुगमन गर्न स्वतन्त्र संयन्त्र बनाउने प्रस्तावसमेत गरिएको छ ।















