काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।
बिज्ञापन
मन्त्री सीता बादीको अध्यक्षतामा कात्तिक १६ गते सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो ।
बिज्ञापन
बैठकमा मन्त्रालय र मातहतका निकायले पहिलो तीन महिनामा सञ्चालन गरेका कार्यक्रम, हासिल उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्याबारे समीक्षा गरिएको थियो ।
समीक्षाका क्रममा पहिलो त्रैमासिक अवधिमा ५२ जना सडक बालबालिकाको उद्धार गरिएको जानकारी दिइएको छ । देशभर हराएका २ हजार ३५६ बालबालिकामध्ये २ हजार ७७ जनालाई फेला पारी परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, हिंसा तथा जोखिममा परेका २२६ जना बालबालिकाको तत्काल उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । बाल हेल्पलाइनमार्फत २ हजार ९७८ जना बालबालिकालाई राहत, उपचार, मनोविमर्श तथा कानुनी परामर्शलगायतका सेवा उपलब्ध गराइएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।
बिज्ञापन
बैठकमा महिला सशक्तीकरण, बालबालिकाको संरक्षण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सामाजिक सुरक्षा कोषको दायरा विस्तारलगायतका विषयमा पनि समीक्षा गरिएको थियो । सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रको पूर्वाधार निर्माण र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी प्रगतिको अवस्थाबारे समेत छलफल भएको थियो ।
नीतिगत तथा कानुनी सुधारका विषयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनका विधेयक तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीबारे जानकारी गराइएको थियो ।
यसैगरी, विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, संरक्षण, राहत र मनोसामाजिक सहयोगका लागि भएका प्रयासको समीक्षा गरिएको थियो ।
बैठकमा मन्त्रालयका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने तथा नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ ।















