रौतहट : रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। गएराति करिब सवा ९ बजे पानी ट्यांकी नजिक सोही स्थानका अन्दाजी २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो ।
बिज्ञापन
पेस्तोलबाट प्रहार गरिएका गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
घाइते यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको जनाएको छ ।















