काठमाडौं : नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन् । मिलाप मासिकको आयोजनामा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्-११४७ को शुभकामना आदान-प्रदानसँगै ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
बिज्ञापन
नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रि-देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाली कला, साहित्य, संगीत, पत्रकारिता, चलचित्र, सामाजिक सेवा तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान अर्पण गरिएको थियो ।
बिज्ञापन
कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिएको थियो । लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा कन्हैया र स्वर माधुरी अञ्जना गुरुङले स्थापना गर्नुभएको उक्त पुरस्कार दाहाललाई अर्पण गरिएको हो । प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं कार्यक्रमका सभापति कृष्ण भुसाल तथा ‘टीका-गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंह, सल्लाहकार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई पुरस्कार अर्पण गरिएको थियो । नेपाली साहित्यको विभिन्न विधा र गीतसंगीतमा योगदान पुर्याउँदै आउनुभएका दाहाललाई प्रदान गरिएको उक्त पुरस्कारले सिर्जनात्मक साधना र राष्ट्रिय गीतसंगीतको प्रवर्द्धनमा समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यलाई थप सार्थक बनाएको आयोजकले जनाएको छ ।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विशेषरूपमा सम्मान गरिएको थियो । ‘मिलाप कभर सम्मान’ प्राप्त गर्नेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहेका छन् ।
त्यसैगरी, कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सक्रिय रही उल्लेखनीय योगदान पुर्याउने डा।मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो ।
बिज्ञापन
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कला, साहित्य र संगीत राष्ट्रिय पहिचान, भाषा, संस्कृति तथा सामाजिक चेतनाका महत्त्वपूर्ण संवाहक भएको उल्लेख गर्दै स्रष्टाहरूको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले लामो समयदेखि सिर्जना र साधनामा समर्पित व्यक्तित्वलाई सम्मान गर्ने यस्ता कार्यक्रमले नेपाली सिर्जनात्मक क्षेत्रको गरिमा बढाउनुका साथै नयाँ पुस्तालाई कला, साहित्य र संगीतको क्षेत्रमा अघि बढ्न प्रेरणा दिने धारणा राखेका थिए ।















