काठमाडौँ : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई खानामार्फत जोड्ने उद्देश्यले काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना भइरहेको छ। होक्काइडो ग्रुप र र्याडिसन काठमाडौँको सहकार्यमा सञ्चालन भइरहेको यस फेस्टिभलले जापानी खानाको परम्परा, पाककला र सांस्कृतिक अभ्यासलाई नेपाली आगन्तुकमाझ प्रस्तुत गरेको छ।
बिज्ञापन

बिज्ञापन
काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन काठमाडौँ परिसरमा रहेको होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९, २०२६ सम्म सञ्चालन भइरहेको फेस्टिभलमा जापानी खानाका विभिन्न परिकारसँगै प्रत्यक्ष पाककला प्रदर्शन तथा सांस्कृतिक गतिविधि समावेश गरिएका छन् । साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जापानी डिनर बुफे तथा अनलिमिटेड सुसी उपलब्ध गराइएको छ । प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बुफेमा एउटा सफ्ट ड्रिंक, लागू हुने कर तथा सेवा शुल्कसमेत समावेश छन् । कार्यक्रमको व्यवस्थापन र आगन्तुकलाई सहज अनुभव प्रदान गर्ने उद्देश्यले प्रत्येक दिन ७० जनाका लागि मात्र सहभागिता सीमित गरिएको आयोजकले जनाएको छ ।

बिज्ञापन
फेस्टिभलको प्रमुख आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशी (Kazuyuki Hayashi) को प्रत्यक्ष पाककला प्रस्तुति रहेको छ । उनले आगन्तुककै अगाडि सुसी तयार गर्ने प्रदर्शनमार्फत जापानी पाककलाको शैली, सीप र परम्परालाई प्रस्तुत गरिरहेका छन् । फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत जापानी खानाका विभिन्न परिकार समावेश गरिएको छ । करिब ४८ परिकारलाई नौवटा फरक विधामा प्रस्तुत गरिएको यस फेस्टिभलले जापानी खानाको विविधता र त्यसको तयारी शैलीबारे बुझ्ने अवसर प्रदान गरेको छ । खानामा मात्र सीमित नरही फेस्टिभलमा जापानी क्यालिग्राफी र माचा चिया बनाउने परम्परागत विधिको प्रदर्शनसमेत समावेश गरिएको छ । जापानी क्यालिग्राफीले अक्षर लेखनलाई कलात्मक अभिव्यक्तिसँग जोड्छ भने माचा जापानी चिया संस्कृतिको महत्त्वपूर्ण हिस्सा हो ।

यस वर्ष होक्काइडो ग्रुपले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवसमेत मनाइरहेको छ । सन् २०१९ मा नेपालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको समूहले सात वर्षको अवधिमा जापानी खानामा आधारित रेस्टुरेन्ट व्यवसाय विस्तार गर्दै आएको छ । समूहका संस्थापक अर्जुन अधिकारीले जापानमा प्राप्त गरेको आतिथ्य सेवा र पाककलासम्बन्धी अनुभवलाई नेपालमा विस्तार गर्ने सोचसहित व्यवसाय सुरु गरेका हुन् । पार्क भिलेज रिसोर्टबाट सुरु भएको होक्काइडो ग्रुपको व्यावसायिक यात्रा अहिले काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म विस्तार भएको छ । समूहले हाल १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ ।















