काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वहरूमाथि आक्रमण भइरहेको भन्दै यसको संरक्षण गर्न सबै नेपालीहरू गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्।
बिज्ञापन
तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज केवल संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य-मान्यता र विश्वासका आधारमा चल्ने बताएका छन्।
बिज्ञापन
मानिस एक सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानपानको विशिष्ट विकास भएको उल्लेख गर्दै उनले जन्मदेखि मृत्युकै संस्कार तथा सुख-दुःखका परिस्थितिमा नेपाली समाज सामूहिक रूपमा सहभागी हुने मौलिक परम्पराले नै बलियो सभ्यता निर्माण गरेको बताए।
अध्यक्ष ओलीले पछिल्लो समय नेपाली मौलिक बाजागाजा र नृत्यको स्थान अन्य संस्कृतिका बाजा तथा संगीतले विस्थापित गर्दै लगेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिज्ञापन
अन्य देशका संस्कृति सिक्न र प्रयोग गर्न सकिने भए पनि आफ्नै मौलिक कला, संस्कृति र परम्परालाई भने कहिल्यै मेटाउन वा विस्थापित गर्न नहुने उनले प्रष्ट पार्दै नेपाली नृत्यमा शारीरिक चालका साथै हाउभाउ, आँखाको संकेत र भावसमेत मिसिने विशिष्ट विशेषता हुने बताए।
खेतीपातीको सुरुआतदेखि बाली भित्र्याउने समयसम्मका विभिन्न अवसरमा उल्लासपूर्वक मनाइने चाडपर्व तथा सांस्कृतिक सम्पदाहरूको असाधारण महत्त्व रहेको औँल्याउँदै अध्यक्ष ओलीले यस्ता अमूल्य सम्पदाहरूको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन्।















