काठमाडौं : काठमाडौं महानगरपालिकाले बिक्रीमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत गरेको छ । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएका थिए। सूचनाको अवज्ञा गर्दै बिक्री गरिएका सामग्री महानगर प्रहरीले जफत गरेको हो।
बिज्ञापन
महानगर प्रहरीका अनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराही लगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो । जफत गरिएका सामग्रीमध्ये सबैभन्दा धेरै कोटेश्वर र पानीपुरी चोकबाट बरामद भएका छन् ।
बिज्ञापन
महानगर प्रहरी बलले बजार अनुगमनलाई प्रभावकारी बनाउन महानगरको भूगोललाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी चार क्षेत्रमा विभाजन गरेको छ। प्रत्येक क्षेत्रमा क्षेत्रगत कमान्डर र विभिन्न दर्जाका प्रहरी परिचालन गरी नियमित निगरानी तथा अनुगमन भइरहेको महानगरले जनाएको छ।
यसैक्रममा चारवटै क्षेत्रबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा अनधिकृत रूपमा बिक्रीका लागि राखिएका प्लास्टिकजन्य फूल तथा माला जफत गरेका हुन् ।















