अहिलेसम्मका मुख्य ५ समाचार यस प्रकार रहेका छन् ।
बिज्ञापन
१.प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको बताएका छन् ।उनले नेवार समुदायले मनाउने म्हः पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउनुका साथै आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
बिज्ञापन
२. राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवतका रूपमा रहेको बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवतलाई प्रचलनमा ल्याइएको स्मरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका उल्लेख गरेका छन्।
३.राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका बताएका छन्।तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उनले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गरेका छन्। नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताएका छन्।
बिज्ञापन
४. नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।
५.यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ ।।
०००















