अहिलेसम्मका मूख्य पाँच समाचार ( Top Five News ) यस प्रकार रहेका छन् ।
बिज्ञापन
१. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको शक्ति आन्दोलन र निर्वाचनमार्फत देखाउने बताएका छन् । उनले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका हुन् ।शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले ‘एमाले सिद्धियो’ भन्ने भाष्यलाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट जनतामाझ जानुपर्ने बताए । उनले भने-‘नेकपा एमाले सिद्धियो भन्ने जुन कुरा छ, त्यो होइन भन्नका लागि हामीले दुईवटा कुराबाट नेकपा एमाले सिद्धियो होइन, एमाले देशको सबैभन्दा सही विचार बोकेको, सबैभन्दा सङ्गठित, सबैभन्दा प्रभावकारी र सबैभन्दा कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचनबाट फेरि हामीले देखाउनुपर्छ ।’ उनले सरकारका गलत काम रोक्नुपर्ने उल्लेख गर्दै सरकारमाथि स्वेच्छाचारिता, अधिनायकवादी सोच र फासीवादतर्फको यात्राको आरोप लगाए ।
बिज्ञापन
२. मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
३. नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतले निष्पक्ष निर्णय गर्ने बताएका हुन् । उनले भने- ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन ।’ राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै उनले प्रश्नसमेत गरे ।देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनबारे आफूसँग कुनै सल्लाह नगरिएको दाबी गरे ।
बिज्ञापन
४. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए । जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए । लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।
५. नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।विराटनगरले दिएको १६७ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।लुम्बिनीका लागि डिआर्ची शर्ट र आसिफ सेखले ४५-४५ रन बनाए भने अली सेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । यो जितपछि लुम्बिनी लायन्स शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर्स खेल्ने भएको छ । त्यस्तै विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।















