काठमाडौँ : देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
बिज्ञापन
१- शिक्षामन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रममा जलवायु शिक्षालाई अनिवार्य समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीको एन्टाल्यामा आयोजित जलवायु सम्मेलन कोप–३१ को मन्त्रीस्तरीय छलफलमा उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनसँगै विद्यालयका भौतिक संरचनालाई जलवायुमैत्री र सुरक्षित बनाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र भवन संहिताअनुसार खुला क्षेत्रको अवस्थाबारे अध्ययन भइरहेको छ। अध्ययनका आधारमा सुरक्षित विद्यालय निर्माणका लागि गुरुयोजना तयार गरिनेछ । उनले जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका विद्यालयमा परेको असर उल्लेख गर्दै जलवायु अनुकूलनका लागि शिक्षा र वैज्ञानिक सहकार्य आवश्यक रहेको बताए ।
बिज्ञापन
२- मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ । जिपमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
३- धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो । पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए । ब्रतालुले मुखारविन्दुबाट लोकभाखामा छठि मईयाको भक्तिमय गीत गाई अर्घ्य दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । यसरी नै सोमबार विहानै उदाँउदो सुर्यलाई सोही अर्घ्य दिई पर्वको समापन गरिनेछ । भनिन्छ चैति छठ गर्दा हरेक ब्रतालुको हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग जीवनमा कहिल्यै पनि नलाग्ने जनविश्वास रहदै आएको छ ।
बिज्ञापन
४- प्रयोगकर्ताको स्पष्ट अनुमति नलिई मोबाइलमा रहेका तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब रुपैयाँ) जरिवाना गरेको छ । इटालीको तथ्याङ्क संरक्षण प्राधिकरणका अनुसार फेसबुकले करिब दुई करोड प्रयोगकर्तालाई उनीहरूको मोबाइलमा रहेका तस्बिर तथा भिडियो प्रयोग गर्ने सुविधाबारे पर्याप्त जानकारी दिएको थिएन । प्राधिकरणले ६० दिनभित्र उक्त सुविधा स्वतः निष्क्रिय हुने व्यवस्था गर्न र प्रयोगकर्ताको छुट्टै सहमति लिन निर्देशन दिएको छ । मेटाले भने निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ । यसअघि अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले प्रयोगकर्ताको तथ्याङ्क व्यवस्थापनमा गलत जानकारी दिएको ठहर गर्दै मेटालाई २५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब ६५ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको थियो ।
५- इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० सम्म क्षेप्यास्त्र रहेको अमेरिकी गुप्तचर निकायले अनुमान गरेको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार इरानसँग युद्ध पुनः सुरु भएमा अमेरिका र उसका सहयोगीका सैन्य अखडामा आक्रमण गर्न सक्ने क्षमता अझै कायम छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा इरानसँग रहेका क्षेप्यास्त्रको यकिन सङ्ख्या पत्ता लगाउन कठिन रहेको उल्लेख छ । क्षेप्यास्त्रको निगरानी र अवस्थाबारे जानकारी जुटाउन चुनौती रहेकाले कति क्षेप्यास्त्र आक्रमणका लागि तयार छन् र कति भण्डारणमा छन् भन्ने विषयमा पनि स्पष्ट अनुमान गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरान अब युद्ध र शान्तिबीचको अनिश्चित अवस्थामा नरहने बताएका छन् । अमेरिकाले इरानका सात उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने भन्दै उनले अमेरिकाले अर्को गल्ती गरे युद्धको मैदानको दिशा इरानी सशस्त्र सेनाले निर्धारण गर्ने चेतावनी दिएका छन् ।
६- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशमा राष्ट्रिय एकताको सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । इरानबाट उत्पन्न सुरक्षा चुनौतीसहित देशसामु रहेका समस्याको सामना गर्न सबै राजनीतिक शक्तिलाई समेटेर सरकार बनाउनुपर्ने उनको प्रस्ताव छ । नेतन्याहूले आइजेनकोटलाई प्रत्यक्ष संवादका लागि आह्वान गर्दै राष्ट्रिय एकताको सरकार गठनको पहल गरेका हुन् । उनले यस्तो सरकारमार्फत देशको सुरक्षा चुनौती सामना गर्न र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने बताएका छन् । यसअघि इजरायलका राष्ट्रपति इसाक हर्जोगले संसद्का विभिन्न दलसँगको परामर्शपछि नयाँ सरकार गठनको जिम्मेवारी आइजेनकोटलाई दिएका थिए । संसद्का ६७ सदस्यले आइजेनकोटको पक्षमा समर्थन जनाएका थिए भने ४६ सदस्यले नेतन्याहूलाई समर्थन गरेका थिए । उनले सरकार गठनका लागि २८ दिनको समय पाएका छन्, जसलाई थप १४ दिन बढाउन सकिने व्यवस्था छ । आइजेनकोटले नेतन्याहू नेतृत्वको सरकारमा सहभागी नहुने अडान राख्दै लिकुड दलसँग भने आफ्नो नेतृत्वमा सहकार्य गर्न सकिने सङ्केत गरेका छन् । उनले अतिवादी राजनीतिक शक्तिसँगको गठबन्धन अन्त्य गर्नुपर्ने सर्त अघि सारेका छन् । उनको प्रस्तावित सरकारलाई संसद्मा समर्थन जुटाउन अरबी दल तथा अन्य समूहको भूमिका महत्त्वपूर्ण देखिएको छ । तर नेतन्याहूले भने अरबी दलको समर्थनमा बन्ने सरकारबाट देशको सुरक्षा सुनिश्चित हुन नसक्ने दाबी गर्दै यहुदी बहुमत भएका दलहरूलाई समेटेर सरकार बनाउनुपर्ने बताएका छन् । यही विषयलाई लिएर दुवै नेताबीच मतभेद बढेको छ । आइजेनकोटले नेतन्याहूको पछिल्लो प्रस्तावलाई राजनीतिक देखावटी भन्दै अस्वीकार गरेका छन् । उनले लिकुड र आफ्नो दलका वार्ता टोलीबीच छलफल तय भइसकेको उल्लेख गर्दै नेतन्याहूले एकताको कुरा गरे पनि संसद्मा विभाजनकारी राजनीति गरिरहेको आरोप लगाएका छन् ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभेद नरहेको बताएका छन् । आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी वा सरकारले गरेका काममा चित्त नबुझे प्रश्न उठाउनुलाई विरोधका रूपमा बुझ्न नहुने बताए । पार्टी वा सरकारले गलत बाटो लिएको अवस्थामा सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले रास्वपा सुशासनको मुद्दामा कुनै सम्झौता नगर्ने बताए। राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने भन्दै सुशासनका विषयमा पार्टी सरकारको साथमा रहने उनको भनाइ थियो । महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय रास्वपा प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणमा गएको छ । भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिसँग छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।
८- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ । कर्णालीले दिएको १५४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । चितवनका लागि कमिल मिशाराले २५, उसमा मिरले २८, देव खनालले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर हुसैन तलतले ३ विकेट लिए भने मार्क वाट र पवन सराफले २-२ तथा सोमपाल कामीले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए । त्यस्तै चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २-२ विकेट लिएका थिए । यो हारपछि पनि चितवन भने यसअघि नै प्लेअफमा पुगेको छ र चितवन अब चौथो स्थानमै रहेर इलिमिनेटर खेल्ने छ ।
९- भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई २२ रनले पराजित गर्दै पाँच खेलको सिरिज ३–२ ले जितेको छ । न्युजिल्यान्डको माउन्ट माउन्गानुईस्थित बे ओभलमा भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४८.१ ओभरमा १८७ रनमा समेटिएको थियो । यससँगै भारतले निर्णायक खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो । भारतले पहिले ब्याटिङ गर्दै ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । भारतका अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाए । न्युजिल्यान्डका मिचेल सान्टनर र ज्याकब डफीले समान ३ विकेट लिए । जवाफमा न्युजिल्यान्डका डिन फक्सक्रफ्टले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका अर्शदीप सिंहले ३ विकेट लिए भने अक्षर पटेलले पनि २ विकेट लिए । यस सिरिजमा भारतले पहिलो र दोस्रो खेल जितेको थियो भने तेस्रो खेल बर्षाले रद्ध भएको थियो । त्यस्तै चौथो खेल न्युजिल्याण्डले जितेको थियो । एकदिवसीय सिरिजपछि अब दुवै देशले २ खेलको टेस्ट सिरिज खेल्ने छन् । पहिलो टेस्ट नोभेम्बर १९ देखि शुरु हुदैछ ।
१०- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली फर्काउन कांग्रेसले चितवनबाट दुबो ल्याएर पुनःरोपण सुरु गरेको छ । आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना र भारी वर्षाका कारण दुबो बिग्रिएको थियो । काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार पुनःस्थापनाको काम सुरु गरिएको बताए । कांग्रेसले आगामी दिनमा नियमित सिँचाइ, मलखाद र मर्मतसम्भार गरेर खुलामञ्चको संरक्षण गर्ने जनाएको छ ।
११- जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसहित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का करिब एक दर्जन कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । टर्कीमा आयोजित सम्मेलनमा उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । साथै, नेपाललाई जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनको नयाँ सदस्य बनाउँदै जलवायु उत्थानशीलताका लागि वित्तसम्बन्धी नीतिगत अवधारणा प्रस्तुत गरेका थिए । भ्रमणका क्रममा उनले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली, बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसहित पाँच देशका जलवायु दूत तथा अन्तर्राष्ट्रिय जलवायु विज्ञहरूसँग छलफल गरेका थिए ।
१२- अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघको निर्वाचन प्रक्रिया अघि बढाउनेदेखि यू–१५ फुटबल टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेसम्मका निर्णय गरेको छ । एन्फाले हालको प्रशिक्षण कार्यक्रम सुधार गर्ने, एकेडेमीको अवस्था र बजेटबारे प्रतिवेदन माग्ने तथा दशौँ राष्ट्रिय खेलकुदमा फुटबलतर्फको प्राविधिक व्यवस्थापनमा सहयोग गर्ने निर्णयसमेत गरेको छ । ललितपुरको सातदोबाटोस्थित एकता कम्प्लेक्समा शनिबार बसेको एन्फा बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो । बैठकले यसअघि कात्तिक १३ गते बसेको कार्यसमिति बैठकका निर्णय कार्यान्वयन तथा अन्य प्रशासनिक विषयमा पनि छलफल गरेको थियो । बैठकले २०८२ वैशाख २६ गते काठमाडौँको दशरथ रंगशालामा सम्पन्न एन्फाको नियमित साधारणसभाको निर्णय तथा निर्देशनअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि २०८२ पुस १६ गतेको कार्यसमिति बैठकले निर्वाचनसम्बन्धी निर्णय स्थगित गरेकोमा त्यसलाई संशोधन गर्दै २०८३–२०८७ कार्यकालका लागि एन्फा तथा जिल्ला संघहरूको नियमित निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो। नयाँ नेतृत्व चयनका लागि आवश्यक स्वीकृति, एन्फाको निलम्बन फुकुवा, संघको स्वच्छता र स्वाधीन निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्ने निर्णयसमेत भएको छ ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन,आर्थिक विकास,सार्वजनिक सेवा प्रवाह,संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ । दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी,राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।
१४- पोर्चुगलले आफ्ना महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा राष्ट्रिय टोलीको ७ नम्बर जर्सीको डिजाइन परिवर्तन गरेको छ । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि पोर्चुगलले उनको ऐतिहासिक जर्सी नम्बरलाई सधैँका लागि विशेष बनाउने उद्देश्यले नयाँ डिजाइन सार्वजनिक गरेको हो । पोर्चुगल फुटबल सङ्घले ७ नम्बरको बीचमा तेर्सो धर्सा थपेर नयाँ डिजाइन तयार पारेको छ । यसअघि रोनाल्डोले आफ्नो नाममा चिनिएको ७ नम्बर लेख्दा प्रयोग गर्ने शैलीसँग मिल्ने गरी नयाँ डिजाइन बनाइएको हो । सङ्घले सामाजिक सञ्जालमा ‘नयाँ ७ को सुरुवात, किनकि एउटा ७ सधैँ अमर रहनेछ’ भन्ने सन्देशसहित नयाँ डिजाइन सार्वजनिक गरेको छ । रोनाल्डोको सन्न्यासपछि डेनमार्कविरुद्धको खेलमा पोर्चुगलले उनलाई विशेष सम्मानसमेत गरेको थियो । जर्सी नम्बर ७ लाई औपचारिक रूपमा हटाउनुको सट्टा नयाँ स्वरूप दिएर पोर्चुगलले आफ्नो फुटबल इतिहासमा रोनाल्डोको योगदान र विरासतलाई स्थायी रूपमा जोड्ने प्रयास गरेको छ । ४१ वर्षीय रोनाल्डोले नोभेम्बर ५ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका थिए । उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोपेली च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यस्तै, उनले सन् २०१९ र २०२५ मा युईएफए नेसन्स लिगको उपाधिसमेत जितेका थिए। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२६ सेप्टेम्बर २४ मा वेल्सविरुद्ध भएको थियो, जसमा पोर्चुगल १–० ले विजयी भएको थियो ।
१५- नेकपा एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेलाको आयोजना गर्दैछ । त्यस्तै मङ्सिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्न लागेको छ भने मङ्सिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बस्न लागेको हो । मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरिदैछ भने मङ्सिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ । भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुने भएका छन् । त्यस्तै राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेला सकिएपछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने भएको छ । एमालेले तीन केन्द्रीय स्तरका कार्यक्रमपछि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम र आगामी स्थानीय तहको निर्वाचित केन्द्रित पार्टीका गतिबिधि अगाडी बढाउने तयारी गरेको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सयले घटेर दुई लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार चाँदी ३७०० रुपैयाँमा कारोबार भएको थियो ।
१७- प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य अर्पण गरिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् । उनले सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामनासँग जोडिएको उल्लेख गरेका छन् । चार दिनसम्म मनाइने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहेको उनले बताएका छन् । प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै छठ पर्वले सकारात्मक ऊर्जा प्रदान गरी सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले सूर्यदेव र छठी माताको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्दै मैथिली भाषामा समेत छठ पर्वको शुभकामना दिएका छन् ।
१८- अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट स्टारसिपलाई अन्तरिक्ष यात्रा पूरा गरेर फर्किने क्रममा प्रक्षेपण टावरमा जडित यान्त्रिक हातको सहायताले हावामै समातेर नयाँ इतिहास रचेको छ । शनिबार भएको यो सफल परीक्षणलाई अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीका प्रमुख एलन मस्क र उनको टोली लामो समयदेखि यस्तो सफलता हासिल गर्ने प्रयासमा थिए । अन्तरिक्ष यात्रा पूरा गरेर फर्किएको स्टारसिपलाई पहिलोपटक यसरी यान्त्रिक हातले समातेको हो । तर, रकेटको पहिलो भाग अर्थात् बुस्टर भने सफलतापूर्वक समात्न सकिएन । टेक्सासबाट उडान भरेको बुस्टर मेक्सिकोको खाडीमा खसेर नष्ट भएको थियो । उडानका क्रममा बुस्टरका इन्जिन समयअघि नै बन्द भएपछि मार्गनिर्देशन प्रणालीमा समस्या आएको र समुद्रमै नष्ट गर्नुपरेको स्पेसएक्सले जनाएको छ । स्पेसएक्सको प्रक्षेपण केन्द्रबाट उडेको ४०७ फिट अग्लो स्टारसिपले करिब २२ घण्टाको अन्तरिक्ष यात्रा पूरा गरेको थियो । बुस्टरबाट अलग भएपछि अन्तरिक्षमा पुगेको यानले २६ वटा स्टारलिङ्क उपग्रहलाई निर्धारित कक्षमा स्थापित गरेको थियो । पृथ्वीबाट करिब १६५ माइलमाथि परिक्रमा गरेको यानले पृथ्वीको १४ पटक चक्कर लगाएर पुनः फर्किएको थियो । यसअघिका परीक्षणको तुलनामा यो ठूलो प्राविधिक उपलब्धि भएको कम्पनीको दाबी छ । स्पेसएक्सका अधिकारीहरूले यान्त्रिक हातले स्टारसिपलाई सफलतापूर्वक समात्नुले रकेटलाई पुनः प्रयोग गर्न सकिने प्रविधिको विकासमा महत्त्वपूर्ण सफलता मिलेको बताएका छन् । परीक्षणका क्रममा यानको ताप प्रतिरोधी सुरक्षा प्रणालीसमेत सही अवस्थामा रहेको जनाइएको छ । स्टारसिपको सफल परीक्षण अमेरिकी अन्तरिक्ष निकाय नासाको आगामी चन्द्र अभियानका लागि पनि महत्त्वपूर्ण मानिएको छ । नासाले यस परियोजनामा ठूलो लगानी गरेको छ । सन् २०२८ सम्ममा अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमाको सतहमा पुर्याउने नासाको लक्ष्य छ । चन्द्रमामा स्थायी आधार शिविर निर्माण गर्ने योजनामा पनि स्टारसिपको भूमिका महत्त्वपूर्ण रहनेछ । नासाले आगामी आर्टेमिस अभियानअन्तर्गत यही प्रविधिको प्रयोग गर्ने तयारी गरिरहेको छ । नासाका प्रमुख जारेड आइज्याकम्यानले स्टारसिपको सफल अवतरणप्रति खुसी व्यक्त गर्दै यसलाई चन्द्रमाको यात्रालाई नजिक पुर्याउने जादुमय उपलब्धिको संज्ञा दिएका छन् । स्पेसएक्सका इन्जिनियरहरूका अनुसार आगामी केही महिनाभित्र फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट पनि स्टारसिपको उडान सुरु गर्ने तयारी भइरहेको छ । उक्त केन्द्र नासाको आगामी आर्टेमिस अभियानको प्रमुख प्रक्षेपण केन्द्र बन्नेछ । आर्टेमिस–३ अभियानअन्तर्गत अन्तरिक्ष यात्रीले पृथ्वीको कक्षमा रहेर चन्द्रमामा अवतरण गर्ने यानको अभ्यास गर्ने योजना छ । नासाले सन् २०२८ सम्ममा मानवलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य राखेको छ । स्पेसएक्सका संस्थापक एलन मस्कले भने भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने लक्ष्यसहित स्टारसिप विकास गरिरहेका छन् ।
१९- अमेरिकी रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो हार बेहोरेपछि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा हुने राष्ट्रपति निर्वाचनबाट पछि हट्नेबारे विचार गरिरहेको चर्चा सुरु भएको छ । सीएनएनको रिपोर्टअनुसार इरानसँग जारी युद्ध, पार्टीभित्र बढ्दो मतभेद र ‘मागा’ आन्दोलनको भविष्यबारे अनिश्चितताका कारण भान्स आफ्नो राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन् । यद्यपि, उनले राष्ट्रपति निर्वाचन नलड्नेबारे कुनै अन्तिम निर्णय गरिसकेका छैनन् । भान्सका निकट सहयोगीहरूका अनुसार इरानसँगको युद्ध उनको राष्ट्रपति बन्ने आकाङ्क्षाका लागि ठूलो चुनौती बनेको छ । युद्ध जारी रहे सन् २०२८ मा रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारलाई चुनाव जित्न कठिन हुने उनीहरूको बुझाइ छ । मध्यावधि निर्वाचनमा पार्टीले हार बेहोरेपछि भान्सले सामाजिक सञ्जालमार्फत युद्धलाई हारको प्रमुख कारण बताएका थिए । उनले युद्ध अन्त्य गर्ने, महँगी नियन्त्रण गर्ने र घरेलु समस्यालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट बनेको सीएनएनले उल्लेख गरेको छ । यसैबीच, फ्लोरिडाका गभर्नर रोन डेसान्टिस, टेक्सासका सिनेटर टेड क्रुज र जर्जियाका गभर्नर ब्रायन केम्प पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । भान्सका समर्थकहरूले भने उनी चुनावी प्रतिस्पर्धामा उत्रिए रिपब्लिकन पार्टीको प्रारम्भिक छनोटमा बलियो बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
२०- युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा डेनमार्कले पोर्चुगललाई ४–१ गोलले पराजित गरेको छ । पोर्चुगलको घरेलु मैदान ब्रागामा भएको खेलमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीको लगातार चार खेलको जित यात्रामा पूर्णविराम लगाएको हो । डेनमार्कको जितमा रासमुस होइलुन्डले दुई गोल गरे भने पिएरे एमिल होइबियर्ग र जोआखिम एन्डरसनले एक–एक गोल गरे । खेलको ४३औँ मिनेटमा पेनाल्टीमार्फत होइबियर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५०औँ मिनेटमा होइलुन्डले अग्रता दोब्बर बनाए। उनले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई ३–० को स्थितिमा पुर्याए । खेलको ७५औँ मिनेटमा एन्डरसनले गोल गरेपछि डेनमार्क ४–० ले अघि बढेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेपछि टोलीले खेलेको यो पहिलो खेल थियो । खेलअघि रोनाल्डोको सम्मानमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । तर, उनको अनुपस्थितिमा पोर्चुगलले निराशाजनक नतिजा बेहोरेको छ । हारका बाबजुद पोर्चुगल समूह ‘ए४’ मा १२ अंकसहित शीर्ष स्थानमा कायम छ । डेनमार्क ९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलले यसअघि पहिलो भेटमा डेनमार्कलाई उसकै मैदानमा ४–२ गोलले पराजित गरेको थियो । समूह चरणको एक खेल बाँकी रहँदा पोर्चुगलले क्वार्टरफाइनलमा स्थानसमेत सुरक्षित गरिसकेको छ । अब पोर्चुगलले अन्तिम खेलमा वेल्सको सामना गर्नेछ भने डेनमार्कले नर्वेसँग खेल्नेछ ।















