आज दिनभरका प्रमुख २० समाचार

देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन आवश्यक रहेको औँल्याएका छन् । त्यस्तै, बढ्दो विद्युत् माग र औद्योगिक विकासलाई ध्यानमा राख्दै उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली विस्तार, ग्रिडका अवरोध हटाउने र विद्युत् निर्यात क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । ऊर्जा सुरक्षाका लागि जलविद्युत्सँगै सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोत, ऊर्जा भण्डारण र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । भेटमा नेपाल सरकार र विश्व बैंकबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा ऊर्जा प्रणालीको दीर्घकालीन स्थायित्वका लागि समयसीमा र उपलब्धिमा आधारित सहकार्य अघि बढाउने विषयमा छलफल भएको छ ।

बिज्ञापन

२- चीनको शेन्जेनमा राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटै रेड कार्पेटमा देखिएका छन् । ट्रम्प, सी र सीकी पत्नी एकै ठाउँमा उभिरहेका बेला पुटिन त्यहाँ पुगेका देखिन्छन् । पुटिन र ट्रम्पले हात मिलाउँदै एकअर्काको काँधमा थपथपाएर आत्मीय अभिवादन गरेका छन् । अगस्ट २०२५ मा अलास्कामा भएको रुस–अमेरिका शिखर भेटपछि पुटिन र ट्रम्पबीच पहिलो भेट भएको हो । उनीहरूबीचको अभिवादनलाई अन्तर्राष्ट्रिय कूटनीतिक चासोका रूपमा हेरिएको छ । सी, ट्रम्प र पुटिनबीच पहिलो पटक त्रिपक्षीय शिखर बैठक हुन लागेको हो । तीनै नेता भोलि दिउँसो भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटलाई विश्व राजनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

बिज्ञापन

३- सरुवा निर्णय कार्यान्वयन नगरेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा गरिएको भए पनि उनी सरुवा भएको कार्यालयमा हाजिर नभई पुरानै पालिकामा काम गर्दै आएका थिए । त्यस्तै, गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई समेत हाजिर गराएको थिएन। सरुवा निर्णय कार्यान्वयन नगरी पुरानै कर्मचारीलाई निरन्तर काममा लगाइएको भन्दै मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गर्ने निर्णय गरेको हो । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ । आर्थिक अधिकार रद्द गरिएको विषयमा मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै गाउँपालिकाको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।

४- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । कार्कीलाई पुनर्बहाली गर्ने वा अन्तरिम आदेश दिने विषय संयुक्त इजलासबाट टुंगो लाग्नेछ । कार्कीले सुनुवाइको मौका नदिई आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै गत कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले कात्तिक १८ गते उनलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

बिज्ञापन

५- नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मा कारोबार भएको थियो । आज बैंकिंग र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सानिमा लार्ज क्यापको शेयर ३.२६ प्रतिशतले बढेको छ भने कुमारी सबल योजनाको ३.१७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ८.६३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड २४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईसँग भेटवार्ता गरेको छ । चेङ्दुमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई विकास, लगानी र साझा समृद्धिमा केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव नेपाली पक्षले राखेको थियो । विशेषगरी सीमापार यातायात, पर्वतीय अध्ययन तथा विपद् प्रतिकार्य, हरित उद्योग, हवाई सम्पर्क, व्यापार र डिजिटल नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको थियो । रास्वपा प्रतिनिधिमण्डलले सुरक्षित तथा भरपर्दो सीमापार सडक, सुक्खा बन्दरगाह, आधुनिक भन्सार प्रणाली, बाढीको पूर्वसूचना, मौसम पूर्वानुमान र विपद् पूर्वतयारीमा चीनसँग सहकार्य गर्न प्रस्ताव गरेको छ । त्यस्तै, जलविद्युत्, हरित हाइड्रोजन, विद्युतीय सवारीसाधन, ब्याट्री उत्पादन तथा प्रविधि हस्तान्तरणमा साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएको थियो । नेपाली पक्षले चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा थप प्रत्यक्ष हवाई सम्पर्क विस्तार, नेपाली चिया, जडीबुटी, फलफूल तथा हस्तकलाको निर्यात प्रवर्द्धन र कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर, प्राविधिक तालिम तथा हरित तथ्याङ्क केन्द्रमा सहकार्यको प्रस्तावसमेत गरेको थियो । सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताएका थिए । उनले दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयन तथा स्थानीय तहमा पार्टी र सरकारी सम्बन्ध विस्तारका लागि सिचुवानले सहयोग गर्ने उल्लेख गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको सहयोग, विकासका आयोजना तथा पारस्परिक लाभका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

७- चीनको विदेशसँग मैत्री सम्बन्ध प्रवर्द्धन गर्ने जनमैत्री संस्थाका अध्यक्ष याङ वानमिङले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीच संस्थागत, जनस्तर तथा समुदायबीचको पारस्परिक हितमा आधारित सहयोग र सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । भेटमा दुवै पक्षले दुई देशका संस्था, नागरिक तथा समुदायबीचको सम्बन्ध थप मजबुत बनाउने र आपसी सहयोगका क्षेत्रलाई अघि बढाउने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयले जनाएको छ ।

८- काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरमा निर्माणाधीन महादेवटार सुरुङको ब्रेक थ्रु भएको छ । निजगढबाट काठमाडौं आउने ३ हजार ४२२ मिटर लामो सुरुङ आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोलिएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको द्रुतमार्गअन्तर्गत भीमफेदी र बकैया गाउँपालिकामा महादेवटार सुरुङ निर्माण भइरहेको छ । सुरुङको जोडीमध्ये सबैभन्दा लामो सुरुङ छिचोलिएसँगै आयोजनाले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ब्रेक थ्रु कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापति, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा संलग्न सैनिक तथा गैरसैनिक व्यक्तिहरूको उपस्थिति रहेको थियो । द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका तीन स्थानमा रहेका ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ भने अन्य चार स्थानका आठवटा सुरुङ निर्माणाधीन अवस्थामा छन् ।

९- त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको तीनमहिने कार्यप्रगति विवरणमा पीएन क्याम्पसलाई स्वायत्त संस्थाका रूपमा विकास गर्ने गृहकार्य अघि बढाइएको उल्लेख गरेको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणलाई कार्यान्वयन गर्ने क्रममा पीएन क्याम्पसलाई स्वायत्त बनाउने प्रक्रिया अघि बढाइएको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्कबहादुर केसीका अनुसार क्याम्पसलाई स्वायत्त संस्थामा रूपान्तरण गर्दा शैक्षिक तथा प्रशासनिक सेवा विकेन्द्रीकरण, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । आयोगका अनुसार क्याम्पसको रूपान्तरणका लागि आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना र कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने तथा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ । पीएन क्याम्पस स्वायत्त उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण भए गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधार तथा प्रशासनिक विकेन्द्रीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

१०- पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को व्यवस्थाअनुसार उनीहरूलाई सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, निरश थापा, रमेश प्रसाद पौडेल र पदमन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका अनुसार ६ जना इन्जिनियर कार्यालयमा उपस्थित नभएको कसुरमा तथा एक जना इन्जिनियर मनासिब बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको हो । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ अन्तर्गतको व्यवस्थाअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

११- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए । त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए । राजदूत दलेलाका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेका छन् भने भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायबीच आवश्यक गृहकार्य तीव्र पारिएको छ । भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए । उनले भने- ‘अहिले देश आतंकको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।’ उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताउदै आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको र सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरेका छन् । यस्तो अवस्थामा सबै जनता अगाडी आउनुपर्ने भन्दै एमालेले सबैलाई एक ठाउमा ल्याएर आन्दोलनको नेतृत्व गर्ने बताए । ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउदै निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताए । उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्‍याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए । उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको र राज्यका तीनै अंगमाथि हमला भएको टिप्पणी गरे ।

१३- रास्वपाकी पूर्व सहमहामन्त्री एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । उनले भनेकी छन्- ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’ श्रेष्ठले २०८२ को भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी थिइन् ।

१४- इजरायलको संसद् नेसेटले मतान कहानालाई नयाँ सभामुखमा निर्वाचित गरेको छ । कहानाले ६६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लिकुड पार्टीका ओफिर काट्जले ५२ मत पाएका थिए । सभामुख चयनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षधर सांसदहरूले करिब ६ घण्टा अवरोध गरेका थिए । गाडी आइसेनकोट नेतृत्वको गठबन्धनबाट सभामुख निर्वाचित कहाना संसद्मा शक्तिशाली पदमा पुगेका हुन् । उनको पक्षमा आइसेनकोट नेतृत्वको दलसहित यिसरेल बेइतेनु, बियाचाद, डेमोक्र्याट्स तथा अरब समुदायका रा’म र ज्वाइन्ट लिस्ट दलले समर्थन गरेका थिए । सभामुख चयनसँगै नेतान्याहुको गठबन्धनले संसद्मा आफ्नो बहुमत गुमाएपछि विपक्षी गठबन्धनले संसद्मा प्रभाव बढाउने बाटो खुलेको छ र यसलाई नेतान्याहुको पक्षधरका लागि ठुलो धक्काको रुपमा हेरिएको छ । नयाँ सभामुखले संसद्को कार्यसूची, विधेयक अघि बढाउने प्रक्रिया तथा संसदीय कामकारबाहीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । नयाँ गठबन्धनले पूर्ववर्ती सरकारको न्यायिक सुधारसम्बन्धी विवादित कानुन खारेज गर्ने तयारीसमेत गरेको छ । सभामुख निर्वाचित भएपछि कहानाले संसद् सबै नागरिकको साझा संस्था भएको बताउँदै धर्म, जाति वा लिङ्गका आधारमा विभेद नगरी सबैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका छन् । उनले संसद्ले न्यायालयका आदेशको सम्मान गर्ने तथा राजनीतिक विभाजन, घृणा र अतिवादबाट टाढा रहनुपर्ने बताएका छन् । उता नेतान्याहु पक्षले अरब दलहरूको समर्थनमा सभामुख निर्वाचित भएको भन्दै विरोध जनाएको छ ।

१५- अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण आईपीएल २०२७ नखेल्ने निर्णय गरेका छन् । उनले सनराइजर्स हैदराबादलाई आगामी संस्करणबाट बाहिर रहने जानकारी गराएका छन् । उनको निर्णयसँगै हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’ अर्थात् ट्राभिस हेड र अभिषेक शर्माको साझेदारी टुट्ने भएको छ । अन्तर्राष्ट्रिय खेलको व्यस्त तालिकाबीच आफ्नो खेल भार कम गर्न हेडले आईपीएलबाट विश्राम लिने निर्णय गरेको बताइएको छ । उनलाई आईपीएलबाट बाहिरिन अनुमति मिले हैदराबादको खेलाडी खरिद बजेटमा १४ करोड रुपैयाँ थपिनेछ । आईपीएल २०२७ को खेलाडी लिलामी डिसेम्बर १६ मा गोवामा हुने तय छ । अस्ट्रेलियाले सन् २०२७ मा २० टेस्ट खेल खेल्ने तालिका छ । त्यसबाहेक जुनमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल सम्भावित छ भने जुनदेखि अगस्टसम्म इंग्ल्यान्डसँग एसेज शृंखला र अक्टोबर–नोभेम्बरमा एकदिवसीय विश्वकप खेल्नुपर्नेछ । हेडलाई सनराइजर्स हैदराबादले सन् २०२४ को खेलाडी लिलामीमा ६ करोड ८० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले सन् २०२४ को सिजनमा १९१.५५ को स्ट्राइक रेट तथा ४० भन्दा बढी औसतमा ५६७ रन बनाएका थिए । उनको उत्कृष्ट प्रदर्शनमा हैदराबाद फाइनलसम्म पुगे पनि कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । हैदराबादका लागि उनले ४३ खेलमा १ हजार ३५१ रन बनाएका छन् । हेड र अभिषेक शर्माको जोडी आईपीएलमा सबैभन्दा तीव्र रन बनाउने ओपनिङ जोडीमध्ये एक बनेको थियो । दुवैले ४२ पारिमा ४६.१४ को औसतले १ हजार ८९२ रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीमा ६ शतकीय र ९ अर्धशतकीय योगदान रहेको थियो । प्रति ओभर १२.२७ रन बनाउँदै उनीहरूले कम्तीमा एक हजार साझेदारी रन बनाउने जोडीमध्ये उत्कृष्ट रन गति कायम गरेका थिए ।

१६- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ६३ सयले घटेर तोलाको दुई लाख ६० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३४९० रुपैयाँमा कारोबार भएको थियो ।

१७- गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवासमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेका हुन् । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि प्रहरीले निवासमा पुगेर हेर्दा अचेत अवस्थामा फेला पारेको थियो । निवासको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा लामो समयसम्म नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो । तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । गुल्मी प्रहरीले केसीको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताएको छ ।

१८- रूसको दक्षिणपश्चिम साइबेरियामा मंगलबार सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान उडिरहेको अवस्थामा आगलागी भएपछि सिधै जमिनमा खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रारम्भिक विवरणमा विमानको उपकरणमा खराबी आएको आशंका गरिएको छ । केमेरोभो क्षेत्रका गभर्नर इल्या सेरेद्युकेले यागुनोभो गाउँ नजिक विमान दुर्घटना भएको पुष्टि गरेका छन् । दुर्घटनाग्रस्त विमान एएन–१२ सैन्य मालवाहक विमान रहेको बताइएको छ । एएन–१२ चार इन्जिनयुक्त मालवाहक विमान हो। यसको प्रयोग सैनिक, हतियार, गोलाबारुद तथा अन्य आवश्यक सामग्री ढुवानीका लागि गरिँदै आएको छ । सोभियतकालमा निर्माण गरिएको यो विमान अहिले पनि रूससहित विभिन्न देशमा प्रयोग हुँदै आएको छ ।

१९- युक्रेनले रुसलाई कब्जामा रहेको क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा ठूलो क्षति पुर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई लामो तयारीपछि गरिएको ‘अभूतपूर्व सैन्य कारबाही’ बताएका छन् । युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा पुलको एउटा ठूलो भाग भत्किएर पानीमा खसेको देखिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको छ भने रेलमार्गको केही संरचनामा समेत असर परेको छ । युक्रेनी सेनाका अनुसार पुलबाट सवारी आवागमन बन्द भएको छ । जेलेन्स्कीका अनुसार सात चरणमा गरिएको सैन्य कारबाहीमा रुसी हवाई सुरक्षा प्रणाली, राडार र अन्य सैन्य संरचनालाई क्रमशः निशाना बनाइएको थियो । यसक्रममा ड्रोन तथा फ्लेमिङ्गो र नेप्च्युन क्षेप्यास्त्र प्रयोग गरिएको थियो । रुसले भने पुल पुनर्निर्माण गरेर पहिलेभन्दा राम्रो बनाउने जनाएको छ । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको उक्त पुल रुसी सेनाका लागि सैनिक, इन्धन तथा अन्य सामग्री ओसारपसार गर्ने महत्वपूर्ण मार्ग हो । पुलमा भएको क्षतिले रुसी सैन्य आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ । यसैबीच, रुसी आक्रमणबाट युक्रेनको राजधानी किएभका दुई प्रमुख पुल पनि बन्द भएका छन् । किएभका मेयर भिताली क्लिच्कोका अनुसार ड्निप्रो नदीमाथिका उत्तरी र दक्षिणी पुलमा क्षति पुगेको छ । दक्षिणी पुल आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ भने राजधानीका केही क्षेत्रमा खानेपानी र ताप आपूर्तिसमेत प्रभावित भएको छ ।

२०- पोर्चुगलले युईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा वेल्सलाई ३–२ गोलले पराजित गरेको छ । कार्डिफस्थित कार्डिफ सिटी रंगशालामा भएको रोमाञ्चक खेलमा पोर्चुगलले पुनरागमन गर्दै जित निकालेको हो । खेलमा पोर्चुगलका ब्रुनो फर्नान्डेसले ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै वेल्सका डेभिड ब्रुक्सले गोल गर्दै खेल बराबरीमा ल्याए । वेल्सका सोर्बा थोमसले ४०औँ मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । पोर्चुगलका पेड्रो नेटोले ४३औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने प्रयास गरे पनि पोर्चुगलका कार्लोस फोर्ब्सले ७०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ३–२ को जित दिलाएका थिए । पोर्चुगलका पेड्रो नेटोले ७४औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो । त्यसपछि पोर्चुगल १० खेलाडीमा सीमित भए पनि वेल्सले बराबरी गोल गर्न सकेन । यस जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले समूह चरणका ६ खेलमध्ये पाँचमा जित निकाल्दै १५ अंक जोडेको छ । वेल्स भने समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताको समूह चरण टुंग्याएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रकम अपचलन र ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने

आज दिनभरका प्रमुख २० समाचार

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार

महासचिव पोखेरेलले औंल्याए एमाले भित्रका १४ समस्या

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

ओलीको प्रश्न- प्रधानमन्त्रीको अभिव्यक्ति नहटाएर कहिलेका लागि के प्रमाण राख्न खोजेको ?

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली