आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

बिज्ञापन

१- आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत् आयात गर्ने गरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा बोलपत्र माग्ने तयारी गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आगामी सुख्खायाममा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । नयाँ आयोजनाबाट समेत सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । यसअघि सबैभन्दा कम प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनले उक्त मूल्यमा सम्झौता गर्न नसक्ने जनाएपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । आगामी सुख्खायाममा विद्युत्को माग बढ्ने र आन्तरिक उत्पादन घट्ने भएकाले समयमै आयातको व्यवस्था मिलाएर आपूर्ति जोखिम कम गर्ने प्राधिकरणको योजना छ ।

बिज्ञापन

२- पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो । मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भएको बताइएको छ । सोही प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, अर्का तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी., मन्त्रालयको तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङलाई विहिबार पक्राउ गरेको हो । उनीहरुलाई नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ ।

३- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार असोज मसान्तसम्म यस्तो मूल्यवृद्धि देखिएको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३२ करोड रहेको छ । उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ । असोजसम्म २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । निर्यात ५७ प्रतिशतले बढ्दा आयात ३६.२ प्रतिशतले बढेको छ । चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर बचत ३ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । सरकारको खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ र राजस्व परिचालन २ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप २.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको छ ।

बिज्ञापन

४- नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । मङ्सिर २ र ३ गते कार्की बैंक्वेटमा आयोजित भेलामा देशभर तथा प्रवासबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । भेलाले वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन र स्वेच्छाचारी शासन सञ्चालन गरेको आरोप लगाउँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेको छ । साथै, महँगी नियन्त्रण, सुकुम्बासी समस्या समाधान, बाढीपीडितको पुनर्स्थापना र राष्ट्रिय हितको संरक्षणमा सरकारको ध्यानाकर्षण गराएको छ । विशेष सङ्कल्पमार्फत पार्टीलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, कमजोरी सुधार्ने, युवा पुस्तासँग संवाद बढाउने तथा जनताका समस्या समाधानका लागि अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ । भेलाले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यकर्तालाई जनतामाझ जान निर्देशन दिएको छ । साथै, लोकतन्त्र र संविधानको रक्षा तथा राष्ट्रिय हितका विषयमा अन्य राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्न आह्वान गरेको छ ।

५- कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । बिहीबार, परिषद्ले काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने जनाइएको छ । तर खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ । सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी हुने परिषद्का सदस्य सचिव रामचरित्र मेहताले बताएका छन् । प्रतियोगिताका खेल सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ स्थानमा सञ्चालन गरिनेछ । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगततर्फ स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः २० हजार, १५ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार रुपैयाँ प्रदान गरिने परिषद्ले जनाएको छ ।

६- राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । चौधरीले सेवा प्रवेश तथा बढुवा र पदस्थापनका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका विभिन्न शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पेस गरेका प्रमाणपत्रमा प्राप्ताङ्क विवरण, अस्थायी प्रमाणपत्र, कलेज छाडेको प्रमाणपत्र, आचरण प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्र रहेका छन् । ती प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको र तिनकै आधारमा उनी प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) सम्म बढुवा तथा पदस्थापन भएको आयोगको दाबी छ । नक्कली प्रमाणपत्रका आधारमा सरकारी पद, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार सजाय माग गरिएको छ । आयोगले उनलाई कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

७- पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ । करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १९.२ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ । आयोजनाअन्तर्गत दुई ठूला र छ साना पुल तथा ७२ वटा कल्भर्ट निर्माण गरिनेछ । त्यस्तै, पैदलयात्रीका लागि दुई वटा अन्डरपास र एउटा आकाशे पुल तथा सवारीसाधनका लागि एउटा अन्डरपास निर्माण गरिनेछ । सडक खण्डमा वन्यजन्तुमैत्री संरचनासमेत बनाइने सडक विभागले जनाएको छ ।

८- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुनमा इंग्ल्यान्ड भ्रमण गर्ने घोषणा गरेको छ । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी ६ टी-२० खेल खेल्नेछ । संघले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ । नेपालले जुन ६ मा वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ९ मा वर्म्स्ली तथा जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग टी–२० खेल खेल्ने तालिका छ । यस भ्रमणको मुख्य आकर्षण विश्वप्रसिद्ध लर्ड्स मैदानमा बंगलादेशसँग हुने टी–२० खेल हुनेछ । नेपालले इंग्ल्यान्ड भ्रमणमा विभिन्न तीन टोलीसँग एकदिवसीय र टी–२० दुवै प्रारूपमा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार भ्रमणका सबै ६ खेल जुन १ देखि १२ सम्म सञ्चालन हुनेछन् ।

९- भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राजदूत निश्चलनाथ पाण्डेबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपाली राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । डा. पाण्डेलाई नेपाल सरकारले गत भदौ २ गते भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका पाण्डेलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार गत कात्तिक ३० गते भारतका लागि आवासीय राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका थिए । पाण्डे दक्षिण एसियाली मामिला तथा परराष्ट्र नीतिका जानकार हुन् । उनी यसअघि दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशकका रूपमा कार्यरत थिए । उनले सन् १९९८ देखि २००६ सम्म परराष्ट्र मामिला अध्ययन संस्थानको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बोटलर्स नेपालको शेयर ६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने पिपल्स हाइड्रोको १५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

११- नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्जमा थप ६१५.३४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ । यसमध्ये मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादित ५९४ मेगावाट र सेती खोला जलविद्युत् आयोजनाको २१.३४ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भएको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम बजारमा बिक्री गर्न अनुमति दिएको हो । उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म बिक्री गर्न सकिनेछ । अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ । यो विद्युत् नेपाल विद्युत् प्राधिकरण र भारतका एनभीभीएन तथा पीटीसीबीच भएको मध्यकालीन बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादन हुनेछ । त्यस्तै, सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् पनि नोभेम्बर १८ देखि सन् २०२७ अगस्ट ३१ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति प्राप्त भएको छ । यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण ११९८ मेगावाट पुगेको छ । प्राधिकरणले आगामी हिउँदयाममा विद्युत् माग व्यवस्थापनका लागि भारतबाट १००४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति पाइसकेको जनाएको छ ।

१२- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। तोकिएको समयमा प्रक्रिया पूरा नगरे अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम, थप दस्तुर र जरिवानासहितको बक्यौता चुक्ता गर्न भनेको हो । अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीमा प्राधिकरणका अनुसार विभिन्न २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण गरेका छैनन् । अनुमतिपत्र नवीकरण नगर्ने सेवा प्रदायकमा एलिशा कम्युनिकेसन लिंक, एरोनेट प्रालि, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्राइभेट लिमिटेड र कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्राइभेट लिमिटेड रहेका छन् । त्यस्तै, एभरेस्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड, जीआरएस लिंक इन्टरनेट सर्भिस प्राइभेट लिमिटेड, आई जोन प्राइभेट लिमिटेड, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क र मर्केन्टाइल कम्युनिकेसन पनि अनुमतिपत्र नवीकरण नगर्ने सूचीमा छन् । नेक्स्ट गिकर्स प्राइभेट लिमिटेड, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टमले पनि अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगर्ने तथा बक्यौता नबुझाउने कम्पनीमाथि दूरसञ्चार ऐन, २०५३ को दफा २८ अनुसार अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ । बाँकी रकमसमेत कानुनअनुसार असुल गरिने प्राधिकरणको भनाइ छ । यसैबीच, प्राधिकरणले उपभोक्तालाई अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट तथा दूरसञ्चार सेवा लिन आग्रह गरेको छ ।

१३- बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ । रिलिजको १४ दिनमा रामायणले विश्वभरबाट १५ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो । नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ । फिल्मले प्रदर्शनको १४ दिनसम्म विश्वभरबाट १५१९.०५ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतमा यस फिल्मको कुल कमाई ८४४.४० करोड भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ५१० करोड भारतीय रुपैयाँ कमाई गरेको बलिवुडको बक्स अफिस रिपोर्टिंग गर्ने मिडिया स्याक्निलले उल्लेख गरेको छ । फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । भारतमा रामायणले पहिलो दिन पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा १४औं दिन बुधबार फिल्मले २३.२० करोड भारतीय रुपैयाँ कमाई गरेको छ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन् । मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुने बताइएको छ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नैयसअघि हजार करोड भन्दा बढी खर्च भएको भनिएपनि निर्माताहरुले फिल्मले राम्रो प्रदर्शन गरेपछि पहिलो भागको बजेट ८ सय करोडभन्दा कम भएको बताएका छन् ।

१४- बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको छ । बुधबार राति चट्टोग्रामको पाँचलाइश क्षेत्रमा रहेको उनको घरको भुइँतलाको एउटा कोठामा आगो लगाइएको हो । प्रहरी गस्तीमा रहेका बेला घरको भुइँतलामा आगो लागेको देखेपछि तत्काल घटनास्थल पुगेर आगो निभाइएको डेली स्टार बंगलादेशले उल्लेख गरेको छ । लामो समयदेखि प्रयोगमा नरहेको उक्त कोठामा पुराना फर्निचर र सामान राखिएको बताइएको छ । घरको दोस्रो र तेस्रो तलामा युनुसका दुई भाइका परिवार बस्दै आएका छन्। घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन । प्रहरीले आगजनीमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान थालेको र घटनापछि घर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । यो घटना बंगलादेशमा पछिल्लो समय बढिरहेको हिंसात्मक गतिविधिबीच भएको हो। युनुसले स्थापना गरेको ग्रामीण बैंकका चट्टोग्रामका अनवारा र सतकानिया क्षेत्रमा रहेका दुई शाखामा पनि केही दिनअघि आगजनी भएको थियो । देशका अन्य स्थानमा रहेका ग्रामीण बैंकका कार्यालयसमेत आगजनीको निशानामा परेको खबर सार्वजनिक भएका छन् । ग्रामीण बैंकका अनुसार नोभेम्बर १० यता देशभर कम्तीमा ३७ शाखा तथा कार्यालयमा आगजनी वा आगजनीको प्रयास भएको छ । यसैबीच, पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगले बिहीबार देशव्यापी बन्दको आह्वान गरेको छ । भारतमा निर्वासनमा रहेकी हसिनालाई स्वदेश फर्कन आवश्यक कागजात उपलब्ध नगराइएको विरोधमा बन्द आह्वान गरिएको हो । बन्दको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा बम विस्फोट, सवारीसाधनमा आगजनी र तोडफोडका घटना भएका छन् । युनुसको घरमा भएको आगजनीको विषय संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत उठाइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले बंगलादेशमा भएका सबै हिंसात्मक घटनाको राष्ट्रिय अधिकारीहरूले निष्पक्ष र गम्भीर अनुसन्धान गर्नुपर्ने बताएका थिए । उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार भए पनि प्रदर्शन शान्तिपूर्ण नै रहनुपर्नेमा जोड दिएका थिए ।

१५- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ । राखेपको कार्यकारी समितिले बिहीबार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम प्रतिबन्ध हटाउने निर्णय गरेको हो। राखेपले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएको छ । यसअघि चैतमा अग्रिम निर्वाचन गर्ने प्रयासपछि एन्फामा विवाद सुरु भएको थियो । त्यसपछि राखेपले असारमा प्रतिबन्ध लगाएको थियो भने सरकारी हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघले जुन २४, २०२६ मा एन्फालाई प्रतिबन्ध गरेको थियो । प्रतिबन्ध फुकुवाबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ र एसियाली फुटबल महासंघलाई समेत जानकारी गराएको छ । यसैबीच आजै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी) को थाइल्याण्डमा हुने बैठकमा सहभागिता जनाउदै छन् भने उनले एन्फाको प्रतिबन्ध बारे छलफल गर्न एएफसी र फिफाका प्रतिनिधिसँग भेटवार्ता समेत गर्न लागेका छन् । सोही सन्दर्भमा सकारात्मक सन्देश दिन राखेपले आजै एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

१६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा निकायको संलग्नतासमेत गराएर एमालेलाई निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन् । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई आन्तरिक कमजोरीको परिणामका रूपमा मात्रै बुझ्न नहुने बताउँदै त्यसको पृष्ठभूमि सरकारबाट विस्थापित गराइएको अवस्थादेखि विश्लेषण गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनअघि भएका ध्वंसात्मक गतिविधि र आक्रमणले पार्टीलाई प्रतिरक्षात्मक अवस्थामा पुर्‍याएको बताउदै एमाले सरकार विस्थापनका लागि नै वातावरण तयार पारिएको दाबी गरे । उनले भने- ‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरि राजनीति हुँदैन । राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ ।’ उनले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत एमालेप्रति नकारात्मक धारणा फैलाइएको आरोप लगाउदै भने- ‘अल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्‍याइयो । हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’ ओलीले एमालेले व्यहोरेको राजनीतिक धक्काबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउदै मौसमी छिचिमिराको उदाहरण दिँदै यस्ता प्रवृत्तिको प्रभाव लामो समय नरहने टिप्पणी गरे । समाजमा फैलिएका भ्रम र निराशा हटाउँदै पुनर्जागरणको अभियान सञ्चालन गर्ने जिम्मेवारी पनि एमालेले लिने बताउदै ओलीले पार्टीलाई आगामी दिनमा थप सशक्त बनाउँदै राजनीतिक चुनौतीको सामना गर्ने बताए ।

१७- चीनको सेन्जेनमा जारी ३३औँ एपेक आर्थिक नेताहरूको शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले आफूहरूबीच धेरै वर्षदेखि राम्रो सम्बन्ध रहेको बताएका छन् । ट्रम्पले पुटिनसँगको भेटको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै वार्ताबाट सकारात्मक उपलब्धि हासिल हुन सक्ने बताएका छन् । उनले आफूहरू लामो समयदेखि एकअर्कालाई चिनेको र सम्बन्ध पनि राम्रो रहेको बताएका हुन् । यसैबीच, नौ वर्षपछि पुटिन एपेक शिखर सम्मेलनमा सहभागी भएका छन् । यसअघि उनी सन् २०१७ मा भियतनाममा आयोजित सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनको सामूहिक तस्बिरमा पनि पुटिन मध्यभागमा देखिएका छन् । सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री साने ताकाइचीले पनि पुटिनसँग भेटवार्ता गरेकी छन् । उक्त भेटमा रुसमा हिरासतमा रहेका जापानी नागरिकको अवस्था र रुसी क्षेत्रमा रहेका जापानी कम्पनीको सुरक्षालगायत विषय उठाइएको जापानी पक्षले जनाएको छ । सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले एसिया–प्रशान्त क्षेत्रका साझेदार राष्ट्रलाई रुसी यातायात तथा ढुवानी सञ्जाल प्रयोग गर्न आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षामा रुसको योगदान रहेको उल्लेख गर्दै साझेदार राष्ट्रले सुरक्षाका विषयमा रुसमाथि भरोसा गर्न सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कृत्रिम बौद्धिकताको विकास र नियमनबारे चर्चा गर्दै यसको प्रगतिमा अवरोध पुग्ने खालका नियम बनाउन नहुने बताएका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न अमेरिका प्रतिबद्ध रहने पनि उल्लेख गरेका छन् । चिनियाँ राष्ट्रपति सी जीनपीङले भने खुला व्यापार, आर्थिक सहकार्य, हरित विकास र क्षेत्रीय साझेदारीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले एपेकअन्तर्गत व्यावहारिक सहकार्यका लागि चीनले दुई करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गर्दै सेन्जेनमा एसिया–प्रशान्त क्षेत्रीय सहकार्य अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका छन् ।

१८- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् । रुस भ्रमणबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् । उनले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससम्बन्धी सहमति पनि अघि बढाउनुपर्ने बताए। यी विषय टुंग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ । प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि प्रचण्डले स्पष्ट पारे । प्रचण्ड प्रचण्ड कार्तिक २७ गते मस्को प्रस्थान गरेका थिए ।

१९- नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफु पुन: पद प्राप्त गर्न पार्टीमा नफर्किएको स्पष्ट गरेकी छन् । एमालेको जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले अब आफुले कुनै पद प्राप्त गर्न नलाग्ने बताउदै आफुले आफ्नो अनुभवबाट पार्टी राजनीतिलाई अगाडी बढाउदै देशका लागि योगदान गर्न आएको बताएकी छन् । भण्डारीले सरकारको काम बारे प्रश्न उठाउदै देशमा महंगी बढेको, शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको, राजनीतिक नेताहरुमाथि प्रतिशोधको आधारमा पक्राउ गर्ने गरिएको, प्रेसमाथि धरपकड गरिएको भन्दै प्रतिशोध र निषेधबाट अगाडी नबढ्न सरकारलाई चेतावनी दिएकी छन् । उनले एमाले सधै राष्ट्रियता, स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको लागि आन्दोलन गर्न अग्रसर हुने बताउदै संवाद र सहकार्यबाट अगाडी बढ्न सरकारलाई सुझाव दिएकी छन् ।

२०- मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको जानकारी दिएको छ । घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् । सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

आज दिनभरका प्रमुख २० समाचार

चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार