आज दिनभरका प्रमुख २० समाचार

देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

बिज्ञापन

१- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज दिउँसो भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद दिएका थिए । साथै, बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग गर्ने जापानको तत्परताप्रति पनि आभार व्यक्त गरेका थिए । जापानी विदेश मामिला उपमन्त्री फुजी दुईदिने नेपाल भ्रमणमा छन् । उनी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौं महानगरपालिका र काठमाडौंस्थित जापानी दूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन नेपाल आएका हुन् ।

बिज्ञापन

२- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलामा घरायसी विवादका क्रममा बन्चरो प्रहार हुँदा घाइते भएका श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ भने ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ३८ वर्षीय अम्मर सलामी मगरले आज बिहान करिब ९: ३५ बजे सामान्य घरायसी विवादपछि आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीमाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका थिए । घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएकोमा चिकित्सकले तपेन्द्र र करिष्मालाई मृत घोषणा गरेका थिए । गम्भीर घाइते मनिषा र मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। उपचारकै क्रममा दिउँसो मनिषाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते ६ वर्षीय मिलनको उपचार भइरहेको छ । स्थानीयले बिहान १० बजे प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न अम्मरलाई बन्चरोसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३- अस्ट्रेलियाले टी–२० सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । मेलबर्नमा शनिबार भएको खेलमा इङ्ल्यान्डले दिएको १८८ रनको लक्ष्य अस्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । कप्तान ह्यारी ब्रुकले २८ बलमा ६५ रन बनाए भने टम बान्टनले २२ बलमा ३९ रन जोडेका थिए । अस्ट्रेलियाको जितमा निखिल चौधरीले ३८ बलमा ६६ रनको महत्वपूर्ण योगदान दिए । कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ज्याक एडवर्ड्सले अविजित २५ रन जोड्दै टोलीलाई जित दिलाए । बलिङतर्फ अस्ट्रेलियाका निखिल चौधरीले २१ रन दिएर २ विकेट तथा ज्याक एडवर्ड्सले २७ रन दिएर २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यो जितसँगै पाँच खेलको टी–२० सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

बिज्ञापन

४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डरपोक भएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र जोगाएको दाबी गर्नु हास्यास्पद भएको बताए । उनले भने- ‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’ उनले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै आतंक, आगजनी र तोडफोडबाट सरकार गठन भएको आरोप लगाए । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको भन्दै ओलीले आफ्नो असन्तुष्टि दोहोराएका छन् ।

५- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् । आज राष्ट्रपति भवन शित्तल निवासमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्रबारे विचारविमर्श भएको जनाइएको छ ।

६- बाढीको जोखिम न्यूनीकरण तथा सम्भावित मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाले जल सतर्कता निगरानी प्रणाली थप सुदृढ बनाएको छ । नगरपालिकाले महाकाली नदीको चार लेन क्षेत्रमा तथा जोगबुडा नदीको बाबाथान–कञ्चभोज पुलनजिक प्रत्यक्ष निगरानी प्रणाली जडान गरेको हो । विद्यमान बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ निगरानी प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट नदीको अवस्था निगरानी गर्न र सम्भावित बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले यसलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सुरक्षित दोधारा चाँदनी निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाइएको नगरपालिकाको भनाइ छ ।

७- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यले बहुमतको दाबी पेस गर्न नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार बाराबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले यसबारे जानकारी दिएको हो । संवैधानिक व्यवस्थाअनुसार उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री यादवले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालको सबैभन्दा बढी २७ सिट रहेको छ । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २३, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

८- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सन् २०२६–२७ का लागि सार्वजनिक गरेको केन्द्रीय खेलाडी सम्झौताबाट मोहम्मद रिजवान, शान मसुद र साइमन अयुब बाहिरिएका छन् । बोर्डले सार्वजनिक गरेको नयाँ सूचीमा ३८ खेलाडी समेटिएका छन्, जुन अघिल्लो सूचीभन्दा आठ जना बढी हो । नयाँ सम्झौतामा खेलाडीलाई खेल्ने प्रारूपका आधारमा पाँच समूहमा विभाजन गरिएको छ । सम्झौता सन् २०२६ जुलाईदेखि २०२७ जुनसम्म लागू हुनेछ । यसअघि खेलाडीहरूको सम्झौता सन् २०२६ जुनमा सकिएको थियो । एबी समूहमा टेस्ट र एकदिवसीय खेल खेल्ने सलमान आगा र बाबर आजम रहेका छन् । ए समूहमा टेस्ट खेलाडी आजान अवैस, मोहम्मद अब्बास, सजिद खान र साउद सकिल छन् । त्यस्तै, बीसी समूहमा एकदिवसीय र टी–२० खेल्ने अबरार अहमद, अराफात मिन्हास, फखर जमान, फहिम अशरफ, हरिस रउफ र शाहिन शाह अफ्रिदी समेटिएका छन् । सी समूहमा टी–२० विशेषज्ञ हसन नवाज, माज सदाकत, सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, शादाब खान र उस्मान तारिक रहेका छन् । डी समूहमा विकास चरणका १९ युवा खेलाडी राखिएका छन् । यस समूहमा अब्दुल समद, अब्दुल्लाह फजल, अहमद दानियाल, अली रजा, फरहान युसुफ, हुनेन शाह, मोहम्मद ताहा, तैयब आरिफ, गाजी घोरी, इमरान रान्धावा, रजाउल्लाह, साद बैग, साद मसुद, समीर मिन्हास, साकिब खान, शहजैब खान, शामिल हुसेन, सुफियान मुकिम र उबैद शाह छन् । नयाँ सम्झौताअनुसार एबी समूहका खेलाडीले मासिक ४८ लाख पाकिस्तानी रुपैयाँ पहिलो तहमा र ३८ लाख दोस्रो तहमा पाउनेछन् । ए समूहका खेलाडीको मासिक पारिश्रमिक क्रमशः ४० लाख र ३६ लाख रुपैयाँ हुनेछ । त्यस्तै, बीसी समूहले ३४ लाख र २६ लाख तथा सी समूहले २६ लाख र २० लाख रुपैयाँ पाउनेछन् । डी समूहका युवा खेलाडीको मासिक पारिश्रमिक १० लाख रुपैयाँ तोकिएको छ । खेल शुल्क पनि समूहअनुसार फरक हुनेछ । ए समूहका खेलाडीले प्रत्येक टेस्ट खेलेबापत १५ लाख, एकदिवसीयका लागि ६ लाख ५० हजार र टी–२० का लागि ४ लाख ५० हजार पाकिस्तानी रुपैयाँ पाउनेछन् । एबी समूहका खेलाडीले टेस्टमा १५ लाख, एकदिवसीयमा ७ लाख ५० हजार र टी–२० मा ५ लाख रुपैयाँ पाउनेछन् । बीसी समूहका खेलाडीले टेस्टमा ९ लाख, एकदिवसीयमा ७ लाख ५० हजार र टी–२० मा ५ लाख रुपैयाँ पाउनेछन् । सी समूहका खेलाडीले टेस्टमा ७ लाख, एकदिवसीयमा ५ लाख र टी–२० मा ५ लाख रुपैयाँ खेल शुल्क पाउने व्यवस्था गरिएको छ ।

९- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल बनाउन शुभकामना दिँदै नेपाली कांग्रेसले राष्ट्रिय महत्त्वको भ्रमणअघि प्रमुख प्रतिपक्षसहित राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा उपयोग हुनुपर्ने बताएका छन् । उनले दुई मित्रराष्ट्रबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालको हितका विषयमा ठोस उपलब्धि हासिल गर्न भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । कांग्रेसले भारतसँगको सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ । यसका लागि गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो । जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्या छलफलका विषय थिए । तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको आरोप छ । राष्ट्रिय महत्त्वका भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको भन्दै कांग्रेसले सरकारबाट सुझाव नमागिएकाले औपचारिक सुझाव अघि नसारेको जनाएको छ । सरकारसँग विभिन्न विषयमा असहमति भए पनि राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको कांग्रेसले जनाएको छ । भ्रमण क्षणिक लोकप्रियता वा प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने कांग्रेसको अपेक्षा छ । कांग्रेसले भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य र घोषणाभन्दा नेपाल तथा नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिका आधारमा मूल्याङ्कन हुनुपर्ने स्पष्ट पारेको छ ।

१०- राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भएका छन् । मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको धार्मिक अनुष्ठानको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआराधना तथा दर्शन गरेका थिए । अनुष्ठानमा शाक्य–बज्राचार्य गुरुहरूबाट विशेष शान्ति स्वस्ति पाठ, पूजा तथा अग्निहोम गरिएको थियो । सो अवसरमा उर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि सहभागी थिए । श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भएको महायज्ञको उद्देश्य विश्वशान्ति, प्राकृतिक विपत्ति नहोस् भन्ने कामना, लोककल्याण तथा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गर्नु रहेको आयोजकले जनाएको छ । वज्रयान बौद्ध परम्पराअनुसार संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा, सुकुन्दा पूजा, ध्यान, जप, सूत्रपाठ र अग्निहोमलगायतका धार्मिक विधि महायज्ञमा समावेश गरिएको थियो । सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचित कनक चैत्य महाविहार बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको आस्थाको केन्द्र हो । यहाँ आयोजित धार्मिक कार्यक्रमले काठमाडौँको मौलिक बौद्ध परम्परा, सांस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

११- गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै कर्मचारीको जिम्मेवारीबारे स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन् । पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिएका छन् । दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्नुपर्ने उनको भनाइ छ । गृहमन्त्री गुरुङले सरकारलाई नेताको चाकडी गर्ने नभई जनताको दुःख बुझ्ने, कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको बताएका छन्। उनले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

१२- महोत्तरीको सम्सी गाउँपालिका–५ का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । साविक पोखरीभिन्दा संग्रामपुर गाविसका वडा नं. १ देखि ९ सम्मका बासिन्दाले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि अल्झिएको प्रक्रिया अघि बढेपछि अहिले २४० परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका हुन् । लालपुर्जा प्राप्त भएसँगै स्थानीयले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व स्थापित गरेका छन् । यसले जग्गासम्बन्धी विवाद समाधान गर्न तथा बैंक र वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ ।

१३- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मित्र’ भनेपछि त्यसको जवाफ दिँदै पुटिनलाई ‘हत्यारा’ भनेका छन् । सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीले पुटिनलाई के भनेर सम्बोधन गर्ने भन्ने कुरा ट्रम्पको व्यक्तिगत निर्णय भए पनि युक्रेनका लागि उनी शत्रु र हत्यारा भएको बताएका छन् । उनले पुटिनले दिनरात सर्वसाधारणको हत्या गरिरहेको आरोपसमेत लगाए । यसअघि चीनमा चिनियाँ राष्ट्रपति सी जीनपीङ र पुटिनसँगको ऐतिहासिक त्रिपक्षीय भेटवार्ताका क्रममा ट्रम्पले पुटिनलाई आफ्नो मित्र भन्दै उनीहरूबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताएका थिए । शुक्रबार पनि उनले पुटिनलाई मित्र भन्ने आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पुटिन युद्ध अन्त्य गर्न चाहने दाबी गरेका थिए । यसैबीच, रुसले शुक्रबार युक्रेनको राजधानी किएभका पुल र रेल स्टेसनलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । जेलेन्स्कीले उक्त आक्रमणलाई यस वर्षकै सबैभन्दा ठूलो भन्दै रुसले ११० क्षेप्यास्त्र, त्यसमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ४०० भन्दा बढी मानवरहित विमान प्रयोग गरेको बताएका छन् । आक्रमणमा सर्वसाधारणको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । जेलेन्स्कीले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्दा उनीमाथि पर्याप्त दबाब नपरेको सन्देश जाने बताएका छन् । ट्रम्पले भने पुटिन अमेरिकाका मित्र हुन् वा होइनन् भन्नेबारे आफूले केही भन्न नसक्ने बताएका छन् । यता, पोल्यान्डले शुक्रबार बिहान रुसको एउटा क्रुज क्षेप्यास्त्रसहित तीनवटा वस्तुले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको जनाएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले त्यसलाई दुर्घटनाका रूपमा लिन नसकिने बताएका छन् । घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभए पनि पोल्यान्डले यसलाई रुसको उक्साहटपूर्ण गतिविधि भनेको छ ।

१४- इंग्ल्यान्डका कप्तान ह्यारी केन घुँडामुनिको बायाँ गोलीगाँठोको नसा च्यातिएपछि केही महिना मैदानबाहिर रहने भएका छन् । गएराती जर्मन बुन्डेसलिगाअन्तर्गत कोलोनविरुद्ध बायर्न म्युनिखले १–१ को बराबरी खेलेको खेलमा केन २०औँ मिनेटमा घाइते भएका थिए । विपक्षी खेलाडी जोएल स्मिडसँगको ठक्करपछि चोटग्रस्त भएका उनलाई मैदानबाट बाहिर निकालिएको थियो । बायर्न म्युनिखले केनको बायाँ गोलीगाँठोको नसा च्यातिएको पुष्टि गर्दै उनी केही महिना मैदानबाहिर रहने जनाएको छ । ३३ वर्षीय केनले यस सिजन बुन्डेसलिगाका १० खेलमा चार गोल र आठ गोलका लागि सहयोग गरेका छन् । त्यस्तै, च्याम्पियन्स लिगका चार खेलमा चार गोल गरेका छन् । केनको चोटले इंग्ल्यान्डलाई पनि चिन्तित बनाएको छ । आगामी मार्च २७ र ३० मा हुने युरोपेली राष्ट्र लिगको क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग खेल्ने तालिका छ । उक्त खेलमा केनको सहभागिता अनिश्चित बनेको छ । यसअघि पनि केनले गोलीगाँठोको चोटका कारण लामो समय मैदानबाहिर बस्नुपरेको थियो । सन् २०२३ मा टोटनह्यामबाट बायर्न पुगेयता भने उनको खेल जीवनमा चोटको समस्या तुलनात्मक रूपमा कम देखिएको थियो ।

१५- कृत्रिम बौद्धिकतासम्बन्धी लगानीको भविष्यप्रति लगानीकर्ताको चिन्ता बढ्दै जाँदा अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य घट्नुका साथै हालै सेयर बजारमा प्रवेश गरेको कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको सेयरमा समेत भारी गिरावट आएको छ । सेयर बजारमा कारोबार सुरु भएको पहिलो दिन उत्साहजनक प्रदर्शन गरेको एन्थ्रोपिकको सेयर मूल्य शुक्रबार एकै दिन ८.५ प्रतिशतले घटेको छ । कारोबारका क्रममा यसको मूल्य १२ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ८५ डलर आसपास पुगेको थियो । कम्पनीले पहिलोपटक सार्वजनिक निष्कासनमार्फत प्रतिकित्ता ८३ डलरमा सेयर बिक्री गरेको थियो । बिहीबार कारोबार सुरु हुँदा यसको मूल्य १११.५० डलरसम्म पुगेको थियो । कृत्रिम बौद्धिकता क्षेत्रमा पछिल्लो समय भइरहेको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन नसक्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा बढेको छ । पछिल्लो एक वर्षमा केही ठूला प्रविधि कम्पनीले मात्रै यस क्षेत्रमा एक ट्रिलियन डलरभन्दा बढी लगानी गरेका छन् । तर, यति ठूलो लगानीबाट नाफा कहिले र कति प्राप्त हुन्छ भन्ने स्पष्ट नहुँदा बजारमा जोखिम बढेको विश्लेषकहरूको भनाइ छ । शुक्रबार अमेरिकी बजारका प्रमुख तीन सूचकांकमा उल्लेखनीय गिरावट देखियो । एस एन्ड पी ५०० सूचकांक ३.७ प्रतिशत, डाउ जोन्स १.९ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको न्यास्ड्याक सूचकांक ५.३ प्रतिशतले घटे । एस एन्ड पी ५०० र डाउ जोन्स पछिल्लो उच्च विन्दुबाट १० प्रतिशत वा बढी तल झरेपछि सुधारात्मक गिरावटको अवस्थामा पुगेका छन् । यस क्रममा विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाको सेयर मूल्य १३.७ प्रतिशतले घटेको छ । अमेरिकी धितोपत्र नियामक निकायले कम्पनीको लेखा प्रणालीबारे अनुसन्धान गरिरहेको भन्ने रोयटर्सको समाचारपछि लगानीकर्ताको चिन्ता थप बढेको हो । यद्यपि, उक्त अनुसन्धानबारे आधिकारिक पुष्टि भएको छैन । त्यस्तै, एलन मस्कका कम्पनी टेस्ला र स्पेसएक्सको सेयर मूल्य पनि ७.६ प्रतिशतभन्दा बढीले घटेको छ । स्पेसएक्सले एनभिडियाका चिप खरिदका लागि ठूलो परिमाणमा ऋणपत्र बिक्री गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमा दबाब परेको हो । मेटाको सेयर ५ प्रतिशतभन्दा बढी र अमेजनको ४ प्रतिशतभन्दा बढीले घटेको छ। एप्पल र अल्फाबेटको सेयरमा पनि गिरावट देखिएको छ । अमेरिकामा मात्रै नभई युरोप र एसियाली बजारमा समेत प्रविधि कम्पनीहरूको सेयर मूल्य घटेको छ । दक्षिण कोरियाको कोस्पी र जापानको निक्केई सूचकांक करिब ५ प्रतिशतले घटेका छन् । ताइवानको सेयर बजार शुक्रबार करिब ६ प्रतिशतले घट्दा साप्ताहिक गिरावट १७ प्रतिशतभन्दा माथि पुगेको छ। सन् १९९० यताकै ठूलो साप्ताहिक गिरावटमध्ये एकका रूपमा यसलाई हेरिएको छ । बजार विश्लेषकहरूका अनुसार कृत्रिम बौद्धिकताको माग अझै बलियो रहे पनि लगानीकर्ताले अब कम्पनीहरूको तीव्र वृद्धिभन्दा वास्तविक आम्दानी, नगद प्रवाह र नाफा कमाउने क्षमतामा बढी ध्यान दिन थालेका छन् । एन्थ्रोपिकको उत्साहजनक सेयर निष्कासनले समेत समग्र कृत्रिम बौद्धिकता क्षेत्रप्रति लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न नसकेको विश्लेषण गरिएको छ ।

१६- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै प्रचण्डले द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरुपण तथा मेलमिलाप प्रक्रिया टुंग्याउने र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने काम अझै पूरा हुन नसकेको बताएका छन् । २०६३ मंसिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले यसलाई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएका थिए । नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी परिवर्तन र राष्ट्रिय एकताको उदाहरण बनेको उनले उल्लेख गरेका छन् । शान्ति सम्झौताको मर्म द्वन्द्व अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, सामाजिक मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण रहेको प्रचण्डको भनाइ छ। संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने उनले बताएका छन् । यस अवसरमा प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति श्रद्धासमेत व्यक्त गरेका छन् ।

१७- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका छन् । मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन प्रक्रिया र ढाँचाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना पठाउनेछ । उनले एन्फाको निलम्बन फुकुवाको प्रक्रिया फिफाले नै अघि बढाउने र निर्वाचनको ढाँचाबारे डिसेम्बरसम्ममा स्पष्ट प्रस्ताव आउने बताएका छन् । यद्यपि, निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति बनाएर अघि बढ्ने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको उनले बताए । मन्त्री पोखरेलका अनुसार फिफाले यसअघि नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए । सरकारले आफ्नो कानुनी दायराभित्र रहेर काम गर्ने र फुटबलको आन्तरिक गतिविधिमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ । एसियाली फुटबल महासंघको अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।

१८- साउदी प्रो लिगअन्तर्गत गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अल नासर अल अहलीसँग ३–१ गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा अल अहलीले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । खेलको १४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबलमा कुल गोल संख्या ९८६ पुगेको छ । तर, १८औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने उनको प्रयास सफल हुन सकेन । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो हाफको अन्त्यतिर अल अहलीले खेलमा फर्कने अवसर पायो । गालेनोले ४५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए । दोस्रो हाफमा अल अहलीले थप आक्रामक खेल प्रदर्शन गर्‍यो । ७१औँ मिनेटमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि रोजर इबानेजले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै अल अहलीको जित ३–१ ले सुनिश्चित गरे । यस हारसँगै अल नासर २८ अंकमा सीमित भएको छ । टोली शीर्ष स्थानको अल हिलालभन्दा दुई अंकले पछाडि छ । यता जितपछि अल अहली २४ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

१९- नेपालमा एक दशकसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको २० वर्ष पूरा भएको छ । २०६३ मङ्सिर ५ गते भएको सम्झौताका कतिपय विषय कार्यान्वयन भए पनि द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई न्याय दिने प्रक्रिया अझै टुंगिन सकेको छैन । शान्ति सम्झौताको दुई दशक पूरा हुँदा पनि सङ्क्रमणकालीन न्यायले निष्कर्ष पाउन नसकेको भन्दै सम्बन्धित आयोगले चिन्ता व्यक्त गरेको छ। सम्झौताको दफा ५.२.५ अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने व्यवस्था भए पनि विगतमा तीन पटक आयोग गठन हुँदा समेत न्याय प्रक्रिया पूरा हुन नसकेको आयोगको भनाइ छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग अहिले पदाधिकारीविहीन अवस्थामा छन्। नयाँ सरकारले समेत आयोग गठनलाई प्राथमिकतामा नराख्दा वर्षौंदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडितको आशा निराशामा परिणत हुन थालेको आयोगले जनाएको छ । आयोगका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा आवश्यक संशोधन भइसकेको अवस्थामा पनि पीडितको न्याय पाउने अधिकार सुनिश्चित हुन नसक्नु गम्भीर विषय हो। अब गठन हुने आयोगलाई पर्याप्त जनशक्ति, आर्थिक तथा भौतिक स्रोतसाधन उपलब्ध गराउन पनि सरकारले ध्यान दिनुपर्ने आयोगको माग छ । आयोगले पीडित केन्द्रित दृष्टिकोण अपनाउँदै सत्य जान्न पाउने अधिकार, न्यायसहितको परिपूरण, गम्भीर मानव अधिकार उल्लङ्घनमा जवाफदेहिता र दण्डहीनताको अन्त्य सुनिश्चित गर्न आग्रह गरेको छ । साथै पीडित तथा साक्षीको संरक्षण र उनीहरूको अर्थपूर्ण सहभागितामा स्वतन्त्र तथा विश्वसनीय आयोग गठन गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउन सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा द्वन्द्वपीडितले विना भेदभाव न्याय पाउने अधिकार सुनिश्चित गर्न र यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको छ ।

२०- नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ- ‘नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभीरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभाव बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३।०८।०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म (दैनिक ५ घण्टा ) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुङ्गा माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ । तसर्थ, उल्लिखित समयावधिमा उक्त सडक खण्डमा सबै प्रकृतिका सवारी साधनको आवागमन बन्द रहने भएकाले सोही बमोजिम गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्

आज दिनभरका प्रमुख २० समाचार

ओलीको टिप्पणी- राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभा विघटन गर्नुभयो

लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन कुन खेल हुदैछन् ?

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्याय टुंग्याउन आयोगको आग्रह

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै