नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

काठमाडौं : नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका अधिकांश देशमा यस वर्षको हिउँदेयाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो ।

बिज्ञापन

प्रतिवेदनअनुसार नेपाल, अफगानिस्तान, बंगलादेश र उत्तरी म्यानमारसहित हिन्दुकुश हिमालय क्षेत्रका विभिन्न देशमा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ । तर, क्षेत्रअनुसार मौसमी अवस्था फरक रहने देखिएको छ। पश्चिमी हिमालय क्षेत्रमा भारी वर्षाका कारण स्थानीय बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

‘हिन्दुकुश हिमालय हिउँदे मौसम पूर्वानुमान २०२६’ नाम दिइएको प्रतिवेदन अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले शक्तिशालीदेखि अत्यन्त शक्तिशाली ‘एल निनो’ अवस्था विकास भइरहेको जानकारी सार्वजनिक गरेपछि आएको हो । सन् १९५० देखि उपलब्ध अभिलेखमध्ये यो सबैभन्दा शक्तिशाली एल निनो बन्न सक्ने सम्भावना करिब ६० प्रतिशत रहेको बताइएको छ। इसिमोडका वैज्ञानिकहरूका अनुसार यसले हिमालयका फेदी क्षेत्रमा बढी वर्षा र उच्च हिमाली क्षेत्रमा बढी हिमपात गराउन सक्छ ।

यस वर्षको हिउँदे मौसमको पूर्वानुमान सार्वजनिक हुँदा यसअघि गएको मनसुनमा नेपाल र भुटानलगायत क्षेत्रमा विनाशकारी प्राकृतिक विपद् भएका थिए । हिमाली क्षेत्रमा हिमनदी र स्थायी रूपमा जमेको जमिनमा आएको परिवर्तनका कारण यस्ता घटना भएको प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०२६ को अगस्टमा नेपालको रसुवा जिल्लामा गएको विनाशकारी ढुंगा–हिउँ पहिरोका कारण उद्धार तथा पुनर्निर्माणमा ४ अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

प्रतिवेदनका प्रमुख लेखक सार्थक श्रेष्ठले मौसम प्रणाली र नदीले देशको सीमा नचिन्ने भएकाले विपद् बुझ्न र सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् । क्षेत्रीय विज्ञता र आधुनिक पूर्वानुमान विधिलाई एकीकृत गरेर हिन्दुकुश हिमालय क्षेत्रका आठवटै देशलाई आगामी मौसमको साझा चित्र उपलब्ध गराउने उद्देश्यले प्रतिवेदन तयार गरिएको उनको भनाइ छ ।

प्रतिवेदनले अफगानिस्तान, पाकिस्तान, उत्तरी भारत र नेपालका केही क्षेत्रमा औसतभन्दा बढी हिउँ जम्ने अनुमान गरेको छ। यसको विपरीत भुटान र चीनको पूर्वी तिब्बत क्षेत्रमा हिउँको तह औसतभन्दा कम हुन सक्ने देखिएको छ । हिउँको गहिराइले नदीमा पानीको बहाव कायम राख्न र आगामी वर्षका लागि उपलब्ध हुने पानीको मात्रा अनुमान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। हिउँ कम जम्दा सिँचाइ, जलविद्युत् उत्पादन र मुहानबाट बग्ने पानीमा समेत असर पर्न सक्छ ।

हिउँदेयाममा बढी वर्षा हुने अनुमान भए पनि हिन्दुकुश हिमालयका सबै क्षेत्रमा डढेलोको जोखिम भने हट्ने छैन। केही क्षेत्रमा लामो समयसम्म सुख्खा अवस्था रहने र घाँस तथा अन्य वनस्पति सुक्ने भएकाले आगलागीको जोखिम बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ। विशेषगरी चीनको दक्षिणपूर्वी तिब्बत र म्यानमारका केही क्षेत्रमा वन तथा घाँसे मैदानमा उच्चदेखि अत्यन्त उच्च डढेलो जोखिम देखिएको छ ।

इसिमोडका जलविज्ञानी मनीष श्रेष्ठले विपद् तयारी मनसुन सकिएपछि पनि निरन्तर हुनुपर्ने बताएका छन्। वर्षा अनियमित र तीव्र हुँदै जाँदा स्थानीय तहले मौसमी पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नुपर्ने र कुन समयमा कहाँ कदम चाल्ने भन्ने निर्णयका लागि छोटो अवधिका स्थानीय पूर्वानुमान उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

हिमाली देशहरूमा मौसमको अवस्था

प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रका आठ देश तथा क्षेत्रको मौसमी अवस्था छुट्टाछुट्टै प्रस्तुत गरेको छ । अफगानिस्तान: देशका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । पूर्वी क्षेत्रका केही स्थानमा भने वर्षा औसतकै हाराहारीमा रहनेछ । देशभर तापक्रम औसतभन्दा बढी हुने र उत्तरपूर्वी हिमाली क्षेत्रमा औसतभन्दा बढी हिउँ जम्ने सम्भावना छ ।

बंगलादेश: मध्य तथा उत्तरी क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने र तटीय क्षेत्रमा औसतकै हाराहारीमा वर्षा हुने अनुमान छ । तापक्रम भने औसतभन्दा बढी रहनेछ। वन तथा घाँसे मैदानमा डढेलोको जोखिम सामान्यतया न्यून रहे पनि दक्षिणी क्षेत्रमा केही स्थानमा मध्यम जोखिम देखिएको छ ।

भुटान: उत्तरी क्षेत्रमा औसतकै हाराहारीमा वर्षा हुने अनुमान छ। देशको दक्षिणी सीमावर्ती क्षेत्रमा तापक्रम औसतभन्दा बढी रहनेछ । मध्य भुटानमा हिउँको तह सामान्य रहने तथा पश्चिमी र उत्तरी क्षेत्रमा औसतभन्दा कम हुने सम्भावना छ । डढेलोको जोखिम अधिकांश क्षेत्रमा मध्यम रहे पनि उत्तर र पूर्वका केही स्थानमा उच्च हुन सक्छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्र: अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। दक्षिणपश्चिमी तथा दक्षिणी सीमावर्ती क्षेत्रमा चिसो अवस्था रहने र पूर्वी क्षेत्रमा तापक्रम सामान्य रहनेछ । दक्षिणपश्चिमी सीमाका केही भागमा औसतभन्दा बढी हिउँ जम्न सक्ने भए पनि पूर्वी क्षेत्रमा हिउँको तह औसतदेखि कम रहने अनुमान छ। दक्षिणपूर्वी क्षेत्रमा डढेलोको जोखिम उच्चदेखि अत्यन्त उच्च रहेको छ ।

भारत: दक्षिणी भारतमा औसतभन्दा कम, मध्य क्षेत्रमा सामान्य र उत्तरी तथा उत्तरपूर्वी क्षेत्रका केही भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । पश्चिमी सीमावर्ती क्षेत्रमा तापक्रम बढ्ने सङ्केत बलियो देखिएको छ । हिमाचल प्रदेश र सुदूर उत्तरमा औसतभन्दा बढी हिउँ जम्ने सम्भावना छ । मध्य तथा पूर्वी भारतका अधिकांश क्षेत्रमा डढेलोको जोखिम न्यून रहे पनि दक्षिणी प्रायद्वीप र उत्तरपूर्वी हिमालयका केही स्थानमा अत्यन्त उच्च जोखिम देखिएको छ ।

म्यानमार: मध्य तथा उत्तरपूर्वी क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने र पूर्वी क्षेत्रमा सामान्य वर्षा हुने अनुमान छ। अधिकांश क्षेत्रमा तापक्रम सामान्य रहनेछ । उत्तरी तथा पूर्वी क्षेत्रमा डढेलोको जोखिम मध्यमदेखि उच्च र उत्तर तथा दक्षिणका केही स्थानमा अत्यन्त उच्च हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल: देशभर औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। मध्य क्षेत्रमा बढी वर्षा हुने सङ्केत देखिएको छ। पहाडी क्षेत्रमा तापक्रम औसतभन्दा बढी र उच्च हिमाली क्षेत्रमा औसतभन्दा कम हुन सक्नेछ । उत्तरी हिमाली क्षेत्रमा औसतभन्दा बढी हिउँ जम्ने अनुमान छ । वन तथा घाँसे मैदानका अधिकांश क्षेत्रमा डढेलोको जोखिम अत्यन्त न्यून रहे पनि पश्चिमी र पूर्वी सीमावर्ती क्षेत्रका केही स्थानमा न्यूनदेखि मध्यम जोखिम देखिएको छ ।

पाकिस्तान: दक्षिणी क्षेत्रका केही भागबाहेक अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । तापक्रम औसतभन्दा बढी रहने र दक्षिणपश्चिमी क्षेत्रमा तापक्रम वृद्धिको सङ्केत बलियो देखिएको छ । उत्तरी पाकिस्तानमा औसतभन्दा बढी हिउँ जम्ने तथा डढेलोको जोखिम मध्यम रहने अनुमान गरिएको छ ।

हिमाली क्षेत्रको सुरक्षा र पानी व्यवस्थापनमा जोड

इसिमोडले ‘हिन्दुकुश हिमालयको हिममण्डलका लागि विज्ञान, नीति र क्षेत्रीय सहकार्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिवेदनका निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ । काठमाडौंमा नोभेम्बर २५ देखि २७ सम्म आयोजना हुने सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र नीतिनिर्माताहरू सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघको हिममण्डल विज्ञानका लागि कार्य दशक (२०२५–२०३४) अन्तर्गत आयोजना हुने सम्मेलनमा हिमाली क्षेत्रको अनुगमन, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका प्राथमिकता तय गर्ने विषयमा छलफल हुनेछ ।

इसिमोडकी विपद् जोखिम न्यूनीकरण हस्तक्षेप व्यवस्थापक सस्वता सान्यालका अनुसार हिउँदे मौसमको पूर्वानुमानले अर्को हिमपहिरो कहिले जान्छ भन्ने निश्चित गर्न नसके पनि जोखिमयुक्त क्षेत्र पहिचान गरी समयमै तयारी गर्न सरकारलाई सहयोग पुर्‍याउँछ। छोटो अवधिका पूर्वानुमान र पूर्वसूचना प्रणालीका आधारमा हिमाली नाका बन्द हुनुअघि नै तयारीका लागि बजेट छुट्याउन सकिने उनको भनाइ छ ।

त्यस्तै, इसिमोडका हिममण्डलसम्बन्धी वरिष्ठ व्यवस्थापक मोहम्मद फारुक आजमले हिउँदे वर्षाले हिमाली विपद् र तल्लो तटीय क्षेत्रको पानी सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्। तापक्रम बढ्दा हिउँका रूपमा पर्नुपर्ने वर्षा पानीका रूपमा पर्न सक्ने र यसले हिमाली क्षेत्रमा हिमपहिरो तथा वर्षासँगै हिउँ पग्लिने जोखिम बढाउन सक्ने उनको भनाइ छ ।

उनका अनुसार पश्चिमी हिमालयमा बढी हिउँ जम्ने सम्भावना देखिए पनि पूर्वी क्षेत्रमा हिउँको तह घट्दा वसन्त ऋतुमा पानीका मुहानमा बहाव कम हुन सक्छ। जलस्रोत व्यवस्थापक, जलविद्युत् आयोजना सञ्चालक र किसानले जलाशय सञ्चालन, पानी बाँडफाँट तथा सिँचाइ योजनाका लागि नियमित अवलोकन र अद्यावधिक पूर्वानुमान उपयोग गर्नुपर्ने उनले बताएका छन् ।

इसिमोडका वायु प्रदूषणसम्बन्धी प्रमुख आशिष तिवारीले नेपालमा राष्ट्रिय वन डढेलो कार्ययोजना र भूउपग्रहमा आधारित आगलागी पहिचान प्रणाली रहेकाले अब डढेलो रोकथामका लागि सुख्खायाम सुरु हुनुअघि नै बजेट र स्रोत परिचालन गर्नुपर्ने बताएका छन् । स्थानीय तह, वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहबीच समन्वय गरी अग्निरेखा निर्माण, तालिमप्राप्त टोली तयारी र आगलागीको सूचना आएपछि कसले के गर्ने भन्ने स्पष्ट व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’