सुर्खेत : दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको महिला क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन् ।
बिज्ञापन
वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला नजिकैको क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ । १९८ रनको विशाल लक्ष्य पाएको लुम्बिनी १५.४ ओभरमा ३९ रनमै समेटिएको थियो । पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाएर १९७ रन बनाएको थियो ।
बिज्ञापन
यसैगरी समूह ‘ए’मा रहेको विभागीय टोली आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।
कोशी प्रदेशले दिएको ६६ रनको सामान्य लक्ष्य आर्मी क्लबले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कोशीले १८.५ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटिएको थियो ।
बिज्ञापन
महिला क्रिकेटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार दुईवटा खेल हुनेछ । बिहान साढे ९ बजे हुने खेलमा बागमती र सुदूरपश्चिम तथा दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्दैछन् ।
त्यस्तै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई १-० गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो ।
यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
अब बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।















