काठमाडौं : स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री स्थानीय सरकार निर्माण गर्नुपर्ने मागसहित ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।
बिज्ञापन
शुक्रबार राष्ट्रिय प्रेस क्लब, अनामनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको हो।
बिज्ञापन
अभियानले स्थानीय सरकार राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको आरोप लगाउँदै दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक सिन्डिकेट, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढेको जनाएको छ।
पत्रकार सम्मेलनमा कानूनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय सिन्डिकेट अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको बताए। उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा परिचालन हुनुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गरे। गैरदलीय निर्वाचनमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो।
बिज्ञापन
त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउने विषयमा जोड दिए।
नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वर्तमान संकट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेको बताए। उनले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छनोट हुने वातावरण बनाउनुपर्ने धारणा राखे।
सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताए। उनले दलीय हस्तक्षेपले स्थानीय सरकारको निष्पक्षता प्रभावित हुने आशंका व्यक्त गरे।
इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले देशको अर्थतन्त्रमा पार्न सक्ने असरबारे चिन्ता व्यक्त गरे।
अभियानले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ। साथै, निर्वाचनमा सहभागी समूहले पाँच वर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसकै आधारमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ।
स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने अभियानको माग छ। स्थानीय उत्पादकबाट उत्पादन खरिद गरी ब्रान्डिङ र बिक्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानले जनाएको छ।
‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’को आयोजनामा भएको कार्यक्रममा नेपाल दलित उत्पीडित केन्द्र, नागरिक निकेतन र सामाजिक न्याय निकेतन सहआयोजकका रूपमा सहभागी थिए।















