देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
बिज्ञापन
१- बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन गरिएको पहलपछि भारतीय आयल कर्पोरेसनले एकै दिन १६१ बुलेट ग्यास लोड गरेको छ । नेपाल आयल निगमका अनुसार नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो । सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट मात्रै लोड हुँदै आएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेको थियो । लोडिङमा भएको वृद्धिले बजारमा ग्यास आपूर्ति व्यवस्थापन सहज हुने निगमको अपेक्षा छ । निगमका अनुसार हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको छ । सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी र वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ ।
बिज्ञापन
२- नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आधिकारिक विवरण निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको अवस्थामा पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगलाई औपचारिक पत्र पठाउने निर्णय गरेको हो । कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताउदै निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब यस्तो गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराइने जानकारी दिए । गत मंगलबारदेखि बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ भने बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।
३- भारतीय ब्याट्सम्यान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इन्डियन्सको पुन: कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान नियुक्त गरेको घोषणा गरेको हो । सन् २०२४ को संस्करणअघि रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको थियो। हार्दिक पञ्जाब किंग्समा गएपछि मुम्बईले रोहितलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको हो । हार्दिकको सट्टा तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बईमा आबद्ध भएका छन् । रोहितले आफ्नो कप्तानीमा मुम्बईलाई पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको नेतृत्वमा टोलीले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । उनले मुम्बईका लागि १५८ खेलमा कप्तानी गर्दा ८७ खेल जिताएका थिए । पछिल्ला दुई सिजनमा मुम्बईको प्रदर्शन निराशाजनक रहेपछि फ्रेन्चाइजीले रोहितलाई पुनः कप्तानीको जिम्मेवारी दिएको हो । अब उनको नेतृत्वमा मुम्बईले आगामी सिजन उपाधि जित्ने लक्ष्य राखेको छ ।
बिज्ञापन
४- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ । त्यसैगरी, फेवाताललगायत प्रदेशका अन्य तालहरूको संरक्षणका लागि संघ र प्रदेश सरकारले संयुक्त रूपमा काम गर्ने विषयमा पनि छलफल भएको थियो । ऊर्जाको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशका ऊर्जा विकाससम्बन्धी आयोजना निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापन र सिँचाइका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै सरकारबीच सहकार्य आवश्यक रहेकोमा भेटमा जोड दिइएको थियो । संघ र प्रदेशबीच आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै विकास निर्माणका कामलाई गति दिने विषयमा समेत छलफल भएको जनाइएको छ ।
५- सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् । चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रका श्रमिकका लागि स्थानीय तहको सहयोगदानसहित संघीय सरकारले एक प्रतिशत सह-योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ । सरकारले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ । हाल कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ नारासहित मनाइएको हो ।
६- अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा इंग्ल्यान्डले सात विकेटको शानदार जित निकालेको छ । शुक्रबार ब्रिस्बेनस्थित गाबा मैदानमा भएको खेलमा अस्ट्रेलियालाई १०८ रनमै समेटेको इंग्ल्यान्डले वर्षाका कारण १७ ओभरमा छोट्याइएको लक्ष्य सहजै पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनाएको थियो । उसका लागि साम हार्परले सर्वाधिक २६ र जेक फ्रेजर–म्याकगर्कले २२ रन बनाए । इंग्ल्यान्डका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १२ रन दिएर पाँच विकेट लिए भने लियाम डसनले दुई विकेट हात पारे । वर्षाले खेल प्रभावित भएपछि इंग्ल्यान्डले १७ ओभरमा ९३ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा इंग्ल्यान्डले आक्रामक सुरुवात गर्दै लक्ष्य सहजै भेट्टायो । एनेरिन डोनाल्डले ११ बलमा ३२ रन बनाए भने जोर्डन कक्स र टम ब्यान्टनले अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । यस जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता बनाएको छ । पहिलो खेल अस्ट्रेलियाले तीन विकेटले जितेको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड आठ विकेटले विजयी भएको थियो ।
७- भारतीय हास्य कलाकार समय रैना युट्युबमा १० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बनेका छन् । उनको यो उपलब्धिलाई युट्युबले डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमानका रूपमा उल्लेख गरेको छ । रैनाको युट्युब च्यानलमा हाल १ करोड २४ लाख सब्सक्राइबर रहेका छन्, जुन नि: शुल्क हुन् । रैनाको च्यानलमा मासिक पैसा तिरेर सदस्य बन्नेको संख्या १० लाख नाघेको हो । उनले आफ्नो च्यानलमा सदस्य बन्न न्युनतम ५९ भारतीय रुपैयाँ प्रति महिना लिने गर्दछन् । गुगल इन्डियाले आफ्नो आधिकारिक ब्लगमार्फत रैनाको उपलब्धिको प्रशंसा गर्दै उनलाई सिर्जनाकर्तामुखी मनोरञ्जन क्षेत्रको महत्वपूर्ण व्यक्तित्वका रूपमा प्रस्तुत गरेको छ । युट्युबका अनुसार रैनाले आफ्नो च्यानललाई लाखौँ दर्शकका लागि मनोरञ्जन र भेटघाटको साझा माध्यम बनाएका छन् । यो उपलब्धि सन् २०२५ फेब्रुअरीमा उनको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ विवादमा परेपछि त्यसका सबै भाग युट्युबबाट हटाएको करिब एक वर्षपछि आएको हो । कार्यक्रममा युट्युबर रणवीर अलाहबादियाले आपत्तिजनक टिप्पणी गरेपछि व्यापक आलोचना र प्रहरीमा उजुरी परेको थियो। त्यसपछि रणवीरले माफी मागेका थिए भने रैनाले पनि माफी माग्दै कार्यक्रमका सबै भाग हटाएका थिए । गुगल इन्डियाका अनुसार युट्युबमा मनपर्ने सिर्जनाकर्तालाई आर्थिक सहयोग गर्ने दर्शकको संख्या पनि बढिरहेको छ । सन् २०२६ को जुन महिनामा भारतमा १२ लाखभन्दा बढी दर्शकले कम्तीमा एक च्यानल सदस्यता खरिद गरेका थिए । यसले भारतीय सिर्जनाकर्ताको सदस्यताबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी बढाएको कम्पनीले जनाएको छ । ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजनको अन्तिम कार्यक्रममा रैनाले विवादपछिको कठिन समयबारे पनि बताएका थिए । क्यानडामा रहँदा आफू निराशामा परेको र कार्यक्रम पुनः सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भनेर पटकपटक कृत्रिम बौद्धिकता प्रविधिसँग प्रश्न गर्ने गरेको उनले खुलासा गरेका थिए । सन् २०२६ मा ‘स्टिल अलाइभ’ नामक हास्य प्रस्तुतिमार्फत रैना पुनः दर्शकमाझ फर्किएका थिए। सोही क्रममा उनले ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजन फर्काउने घोषणा गरेका थिए । दोस्रो सिजन युट्युब र नेटफ्लिक्समा प्रसारण भएको थियो, जसमा आलिया भट्ट, वरुण धवन, हुमा कुरैशी र करण औजला लगायत सहभागी भएका थिए । कार्यक्रमको दोस्रो सिजन समाप्त भएसँगै युट्युबमा १० लाख च्यानल सदस्य बनाउने उनको नयाँ उपलब्धिले रैनाको डिजिटल यात्रामा अर्को महत्वपूर्ण सफलता थपेको छ ।
८- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गर्न लागेको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ । महाधिवेशन मूल तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक प्रा. डा. शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन् । जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन् । त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ । देउवा समूहले मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।
९- पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा पक्राउ परेका अर्याललाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । त्यसअघि उनी भारतमा रहेको बताइएको थियो । पक्राउपछि प्रहरीले उनको निवासमा समेत खानतलासी गरेको थियो । अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगेट असुल गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार सन् २०१९ देखि २०२४ सम्म उक्त शुल्क संकलन गरी १७ पटकमा एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको थियो । यसमा ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्डसमेत रहेको बताइएको छ । उक्त रकम संकलनमा मलेसियाली कम्पनीको स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका रहेको प्रहरीको दाबी छ । यस प्रकरणमा प्रहरीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन अधिकारी तथा व्यवसायीहरूलाई पक्राउ गरिसकेको छ ।
१०- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेटवार्ता गरेका छन् । शुक्रबार, शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहले भेटवार्ता गरेका हुन् । भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेका प्रधानमन्त्री शाहले आज राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण बारे ब्रिफिङ गरेको बताइएको छ । यसअघि आजै रास्वपा सभापति रवि लामिछाने राष्ट्रपति पौडेलसँग समसामयिक विषयमा छलफल गरेका थिए ।
११- नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एनआइएसी एशिया बैंकको शेयर ६.०८ प्रतिशतले बढेको छ भने लक्ष्मी मन्डु हाइड्रोको शेयर ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.३७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २४ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
१२- रुसले सोभियत संघ विघटनपछि सबैभन्दा ठूलो रक्षा बजेट सार्वजनिक गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनामा करिब ८६ लाख ४० हजार करोड नेपाली रुपैयाँ बराबर खर्च गर्ने योजना बनाएको छ । यसअनुसार रुसले वार्षिक औसत २८ लाख ८० हजार करोड रुपैयाँ सेनामा खर्च गर्नेछ । यो नेपालको नजिकको छिमेकी भारतको आर्थिक वर्ष २०२६/२७ को रक्षा बजेटभन्दा करिब २.३ गुणा बढी हो । सन् २०२७ मा रुसले सेनामा मात्रै करिब ३१ लाख ७४ हजार करोड रुपैयाँ खर्च गर्नेछ । यो सन् २०२६ का लागि छुट्याइएको २३ लाख ९२ हजार करोड रुपैयाँभन्दा ३३ प्रतिशत बढी हो । सन् २०२८ मा ३० लाख ७४ हजार करोड र सन् २०२९ मा ३० लाख १६ हजार करोड रुपैयाँ रक्षा क्षेत्रमा खर्च गर्ने अनुमान छ । सन् २०२७ मा रुस सरकारको कुल खर्चको ३५.२ प्रतिशत हिस्सा सेनाका लागि छुट्याइएको छ । सरकारले उक्त वर्ष कुल ४८.७४ लाख करोड रुबल खर्च गर्ने योजना बनाएको छ । युक्रेनमाथि सन् २०२२ मा आक्रमण सुरु गरेयता रुसले सेनामा करिब १०७ लाख ९२ हजार करोड रुपैयाँ खर्च गरिसकेको जर्मनीस्थित एक अनुसन्धान संस्थाका शोधकर्ता जेनिस क्लुगले बताएका छन् । आगामी तीन वर्षको प्रस्तावित बजेट पूर्ण रूपमा खर्च भए सन् २०२९ सम्म कुल सैन्य खर्च करिब १९९ लाख १२ हजार करोड रुपैयाँ पुग्ने अनुमान छ । सेनामा खर्च बढाउँदै लगेको रुसले स्वास्थ्य सेवा, पेन्सन तथा अन्य सार्वजनिक सुविधाको बजेट भने घटाउने भएको छ । सन् २०२७ मा अर्थतन्त्रसम्बन्धी खर्च ३ प्रतिशत, आवास तथा सार्वजनिक सुविधाको बजेट ८ प्रतिशत, स्वास्थ्य सेवाको खर्च ३ प्रतिशत र पेन्सन तथा सरकारी सहायता कार्यक्रमको बजेट ६ प्रतिशत घटाउने प्रस्ताव गरिएको छ । रुसको बढ्दो रक्षा खर्चले सरकारी बजेटमा दबाब पनि बढाएको छ । सन् २०२७ मा बजेट घाटा करिब १० लाख ६ हजार करोड रुपैयाँ पुग्ने अनुमान छ, जुन कुल गार्हस्थ्य उत्पादनको २.२ प्रतिशत हो। घाटा पूर्ति गर्न सरकारले ऋण लिनुपर्ने अवस्था आउने बताइएको छ । शोधकर्ता क्लुगका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा रुसले कुल सरकारी खर्चको करिब ४६ प्रतिशत रकम सेनामा खर्च गरेको थियो । उक्त अवधिमा सैन्य क्षेत्रमा मात्रै करिब १० लाख ९२ हजार करोड रुपैयाँ खर्च भएको थियो ।
१३- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार शित्तल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जानु अघि राष्ट्रपतिलाई ब्रिफिङ नगरेको र फर्केपछि पनि भेट नगरेको अवस्थामा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् । यसअघि लामिछानेसँग प्रधानमन्त्री शाहले बिहीबार करिब पाँच घन्टा छलफल गरेका थिए ।
१४- काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशन परिसरमा रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याएको छ । प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट बिहीबारदेखि परीक्षणका लागि सञ्चालनमा आएको हो । काठमाडौं जलवायु कार्य सप्ताहको अवसर पारेर ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको शुभारम्भ गरेका हुन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्रणाली महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई हस्तान्तरण गरेका थिए । प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले गत साउन १८ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सम्झौता गरेको थियो। केन्द्रले विश्व बैंकको सहयोगमा करिब १ करोड ८० लाख रुपैयाँ खर्च गरेर प्रणालीलाई थप परिष्कृत गरेपछि परीक्षण सञ्चालनमा ल्याइएको हो । प्लान्टमा दैनिक ३ मेट्रिक टन अर्थात् ३ हजार किलोग्राम जैविक फोहोर प्रशोधन गर्न सकिन्छ। यसबाट दैनिक करिब ३०० घनमिटर वायोग्यास उत्पादन हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका ऊर्जा विज्ञ सुशिमान मान अमात्यले बताएका छन्। उनका अनुसार यो परिमाण करिब १० सिलिन्डर एलपीजी ग्यास बराबर हो । प्लान्टको विद्युत् उत्पादन क्षमता १४ किलोवाटसम्म रहेको छ। उत्पादित ग्यासबाट बिजुली निकाल्न, ग्यास टेम्पो सञ्चालन गर्न वा पाइपमार्फत घरघरमा पुर्याएर खाना पकाउन प्रयोग गर्न सकिन्छ । अमात्यका अनुसार प्लान्टमा जैविक फोहोरलाई टुक्रा बनाएर प्राथमिक डाइजेस्टरमा पठाइन्छ। त्यसपछि दोस्रो डाइजेस्टरमा पुर्याइने फोहोरबाट ग्यास उत्पादन हुन्छ। डाइजेस्टरमा राखिएको जैविक फोहोरलाई ग्यास बन्न करिब ४० दिन लाग्छ ।उत्पादित ग्यासमा मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइड मिसिएको हुन्छ । प्रशोधनका क्रममा फिल्टर प्रणालीबाट हाइड्रोजन सल्फाइड छुट्याइन्छ। त्यसपछि चिलर युनिटमार्फत ग्यासमा रहेको पानी निकालेर शुद्धीकरण गरिन्छ। शुद्धीकरणपछि प्राप्त ग्यासलाई चाप दिएर ट्याङ्कीमा भण्डारण गरिन्छ । अमात्यका अनुसार हालको प्रणालीबाट उत्पादित ग्यास १ हजार ५०० मिटरसम्म वितरण गर्न सकिन्छ। प्लान्टबाट निस्कने बाँकी ठोस पदार्थ गन्धरहित जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ भने प्रशोधित पानीलाई प्राङ्गारिक झोल मलका रूपमा बगैँचामा उपयोग गर्न सकिन्छ । एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले युरोपेली संघसँगको सहकार्यमा २०७० सालदेखि प्लान्टको परीक्षण सुरु गरेको थियो । २०७४ सालदेखि सञ्चालनमा आएको यस प्लान्टको निर्माणमा युरोपेली संघबाट ४ करोड ६० लाख रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट १ करोड ८२ लाख रुपैयाँ लगानी भएको थियो। यसरी निर्माणका क्रममा कुल ६ करोड ४२ लाख रुपैयाँ खर्च भएको थियो । प्राविधिक समस्याका कारण सञ्चालन हुन नसकेको प्रणालीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विकास साझेदारको सहयोगमा पुनः सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ । महानगरको यो प्लान्ट सञ्चालनमा आएपछि जैविक फोहोर व्यवस्थापन, ऊर्जा उत्पादन र प्राङ्गारिक मल निर्माणलाई एउटै प्रणालीमा जोड्ने सम्भावना खुलेको छ । परीक्षण सञ्चालनबाट प्राप्त नतिजाले यसको नियमित र दिगो सञ्चालनको बाटो तय गर्ने अपेक्षा गरेको महानगरले जनाएको छ ।
१५- लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने कोषले चेतावनी दिएको छ ।
१६- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म निर्माण गरिएको १३२ केभी प्रसारण लाइन र बुर्तिवाङमा रहेको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो । बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ । फिडर सञ्चालनमा आएसँगै बोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै त्यस क्षेत्रका बासिन्दाले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि स्थानीय बासिन्दाले लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए। राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।
१७- रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले यस्तो सिफारिस गरेको हो । ४८ जिल्लाबाट प्राप्त विवरण र सातवटा विदेशी नियोगबाट प्रमाणित भएर आएका विवरणका आधारमा बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ । यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको सिफारिसका आधारमा तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दुई चरणमा सातदिने सूचना जारी गरी दाबी पेस गर्न आह्वान गरिएको थियो । त्यस्तै, बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ स्वीकृत गरेको छ । यसमार्फत २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद्को पूर्वसूचना पुर्याउने लक्ष्य राखिएको र बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई मार्गचित्रमा प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ । यसैगरी वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।
१८- एलन मस्कको न्युरोटेक कम्पनी न्युरालिंकले मस्तिष्कमा जडान गरिने उपकरणको मानव परीक्षणलाई थप अघि बढाउन अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट अनुमति पाएको छ । कम्पनीले अमेरिकामा ‘लिङ्क’ नामक उपकरणको निर्णायक मानव परीक्षण सुरु गर्न अनुमति पाएको जानकारी दिएको हो । मस्तिष्क र कम्प्युटरबीच सीधा सम्पर्क स्थापित गर्ने प्रत्यारोपणयुक्त उपकरणको यो अमेरिकामा पहिलो निर्णायक मानव परीक्षण हुने कम्पनीको दाबी छ । यसअघि न्युरालिंकको मानव परीक्षण प्रारम्भिक चरणमा सीमित थियो । ती परीक्षणमा उपकरणको सुरक्षा र काम गर्ने क्षमताको अध्ययन गरिएको थियो । निर्णायक परीक्षणमा भने उपकरण सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने प्रमाण जुटाउन ठूलो स्तरमा अध्ययन गरिन्छ । तर, एफडीएको अनुमतिले उपकरण व्यावसायिक रूपमा बिक्री गर्न भने अनुमति दिएको छैन । यो अझै परीक्षणकै चरणमा छ । कम्पनीले परीक्षणमा सहभागी हुने व्यक्तिको सङ्ख्या र अवधि सार्वजनिक गरेको छैन । सन् २०१६ मा मस्कसहितका संस्थापकहरूले स्थापना गरेको न्युरालिंकले विकास गरेको ‘एन१’ चिप सिक्काको आकारको छ । यसलाई टाउकोको हड्डीभित्र प्रत्यारोपण गरिन्छ । कम्पनीको ‘आर१’ नामक विशेष रोबोटले शरीर चलाउने मस्तिष्कको भागमा अत्यन्तै मसिना तारजस्ता विद्युतीय उपकरण जडान गर्छ । व्यक्तिले कुनै काम गर्ने सोच बनाउँदा ती उपकरणले मस्तिष्कबाट निस्कने विद्युतीय सङ्केत टिप्छन् । कम्पनीको सफ्टवेयरले ती सङ्केतलाई बुझेर ताररहित माध्यमबाट फोन वा कम्प्युटरमा पठाउँछ । यसबाट प्रयोगकर्ताले सोचेकै भरमा कम्प्युटरको पर्दामा देखिने सङ्केतक चलाउन वा टाइप गर्न सक्छन् । तर, यो प्रविधि पक्षघात वा एएलएस रोगको उपचार होइन । यसले प्राकृतिक रूपमा शरीर चलाउने, संवेदना महसुस गर्ने वा बोल्ने क्षमता फर्काउँदैन । यो ती क्षमता गुमाएका व्यक्तिलाई विद्युतीय उपकरण प्रयोग गर्न सहयोग गर्ने प्रविधि हो । न्युरालिंकले सन् २०२४ जनवरीमा पहिलोपटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो । डाइभिङ दुर्घटनापछि काँधमुनिको भाग नचल्ने नोल्यान्ड अर्बाउ पहिलो सहभागी बनेका थिए । उनले सोचेकै भरमा अनलाइन चेस र भिडियो खेल खेलेका थिए । सन् २०२५ मा ब्राडफोर्ड स्मिथ मस्तिष्कबाट प्राप्त सङ्केतका आधारमा टाइप गर्ने पहिलो एएलएस रोगी बनेका थिए । हालसम्म विश्वभर मेरुदण्डमा चोट लागेका तथा एएलएस भएका ३० भन्दा बढी व्यक्तिमा यो प्रविधिको परीक्षण गरिएको कम्पनीले जनाएको छ । न्युरालिंकका अनुसार मांसपेशी कमजोर हुँदै पक्षघातसम्म गराउन सक्ने स्नायु प्रणालीसम्बन्धी रोग एएलएस भएका व्यक्ति पनि ‘लिङ्क’ परीक्षणमा सहभागी हुन योग्य हुन सक्छन् । तर, एएलएस रोग लागेको आधारमा मात्रै सहभागी हुन पाइने छैन । परीक्षणमा सहभागी हुने विस्तृत मापदण्ड सार्वजनिक गरिएको छैन । इच्छुक व्यक्तिले कम्पनीको परीक्षणसम्बन्धी वेबसाइटमार्फत आवेदन दिएपछि आवश्यक स्वास्थ्य परीक्षण र छनोट प्रक्रिया पार गर्नुपर्नेछ ।
१९- साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आक्रमणमा घाइते भएका अन्य तीन नेपाली नागरिकको अवस्थाप्रति पनि सरकारले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको अहिले पनि उपचार भइरहेको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न तथा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको छ ।
२०- श्रीलंका ए ले भारत ए लाई ८ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा भारत ए ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका एले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाको जितमा लसिथ क्रुसपुले ११६ र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेलेका थिए । निशान मधुस्काले अविजित ५८ तथा कप्तान पवन रत्नायकेले अविजित ३१ रन बनाए। पहिलो विकेटका लागि क्रुसपुले र जयवर्धनेले १७४ रनको साझेदारी गरेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो । भारतका अभिषेक शर्माले ७८, शहबाज अहमदले अविजित ५४ तथा कप्तान तिलक वर्माले ५३ रन बनाए । वैभव सूर्यवंशीले ४० रनको योगदान दिएका थिए । श्रीलंकाका बलर रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुन धनञ्जयले दुई-दुई विकेट लिए । भारतको हारमा कमजोर बलिङ मुख्य कारण बन्यो । हर्षित राणाले ७ ओभरमा ६१ रन खर्चेर एक विकेट मात्र लिए । श्रीलंका ए ले अब फाइनलमा पाकिस्तान ए र बंगलादेश ए बीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुदैछ ।















