आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह

पोखरा । आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् । पोखरामा इयु नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट कार्यक्रमको आयोजना र महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को समन्वयमा पोखरामा गण्डकी प्रदेशको सेवा क्षेत्रमा महिला उद्यमीका लागि लगानी पूर्वाधार तयारी विषयक कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले महिलाले सो कुरामा जोड दिनुभएको हो ।  

कार्यक्रममा सहभागी पर्यटन व्यवसायी शर्मिला न्यौपानेले राज्यले कनिका छरे जस्ता टुक्रे कार्यक्रममा महिलालाई भुलाइ राखेको र नतिजामुखी कार्यमा ध्यान नदिएको बताउनुभयो । “राज्यले सामाजिक न्याय र समानताका लागि उद्यमशीलतामा महिलालाई प्रेरित गर्न लैङ्गिकतामा आधारित लगानीमैत्री वातावरण तयार गर्नुपर्छ, तर सरकार भएको अनुभूति छैन”, न्यौपानेले भन्नुभयो । उहाँले महिला सशक्तीकरणका लागि आएको बजेट कहाँ र कसरी खर्च हुन्छ भन्नेसमेत थाहा नहुने बताउनुभयो । 

पर्यटन व्यवसायीसमेत रहनुभएकी गण्डक प्रदेशसभा सदस्य देवका पहारीले महिलामैत्री वातावरणको अभावले महिलाले आयआर्जनमा जोडिने अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताका लागि लगानीको वातावरण, व्यवसायमा प्रेरित गर्ने नीति, उत्पादनको बजारीकरणको सुनिश्चितता, महिलाको रुचि, दक्षता क्षमताअनुसारको तालिमको खाँचो औँल्याउँदै आफूले निरन्तर आवाज उठाइरहेको बताउनुभयो । 

कार्यक्रममा प्रोफेसर डा.चन्द्रा भद्राले महिला उद्यमशीलतासम्बन्धी हालसम्म भएका पहल र नीतिगत तहबाट ऐतिहासिक विश्लेषण गर्दै महिलाको क्षमता तथा दक्षताको मूल्याङ्कन अझै पनि राज्यस्तरबाट हुन नसकेको बताउनुभयो । उहाँले महिलाको श्रम अर्थमा रूपान्तरण नहुँदा उनीहरूलाई गृहिणीको दर्जा लिएर अवमूल्यन गरिएको बताउनुभयो । 

उहाँले ७५ जिल्लामा नै स्थापना भएको महिला तथा बालबालिका विकास कार्यालय खारेज हुँदा महिलाका मुद्दा केन्द्रित कार्यक्रम हुन नसकेको उहाँको भनाइ थियो । उहाँले लैङ्गिकमैत्री अवधारणाप्रति राज्य अझै संवेदनशील हुन नसक्दा विभिन्न कारणले महिला विभेद भोग्न बाध्य भएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पर्यटन बहुआयामिक क्षेत्र भएकाले महिलालाई उद्यमशीलतामा प्रेरित गर्न थुप्रै सम्भावना भएको बताउनुभयो । 

पछिल्लो समय पोखराको पर्यटन प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाहमा महिला पर्यटन व्यवसायीको योगदान अतुलनीय रहेको जनाउँदै उहाँले अझै सशक्तीकरणको खाँचो औँल्याउनुभयो । ओटेफका सल्लाहकार पम्फा पहारीले संस्थाको स्थापनासँगै सामूहिक आवाजले गति लिन थालेको बताउनुभयो । उहाँले विभिन्न तालिमले महिलाको आफ्नो पहिचान स्थापित हुने र व्यवसाय अग्रसरता देखाउने तथा आफ्नै नाममा व्यवसाय दर्ता गरेर व्यावसायिक पाइला अगाडि बढाउन सफल भएको बताउनुभयो । 

संस्थाका अध्यक्ष उमा भण्डारी रेग्मीले विभिन्न व्यवसायमा आबद्ध महिलालाई सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरिँदै आएको बताउनुभयो । उहाँले २०७४ सालमा पोखरामा पहिलो पटक महिला पर्यटन व्यवसायी सङ्गठित भएर संस्था स्थापनापश्चात् महिलामा उद्यमशीलता प्रतिको जागरण पनि बढ्दै गएको बताउनुभयो । उहाँले महिला उद्यमीको क्षमता अभिवृद्धि र दिगो वित्तीय व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

युरोपियन युनियनकी प्रतिनिधि दिपाञ्जली श्रेष्ठले गण्डकी प्रदेशको तथ्याङ्कमा करिब ४५ प्रतिशत महिलामात्र आत्मनिर्भर भएको जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाका महासचिव लक्ष्मी लामिछानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?