प्रणय दिवसलाई ३ करोड ५० लाख रुपैयाँकाे गुलाब माग, ९० प्रतिशत गुलाब भारतबाट आयात

काठमाडौँ l यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन  र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए ।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ । यस वर्ष रातो गुलाब प्रतिस्टिक ८० रुपैयाँदेखि सय रुपैयाँसम्म पर्ने उनले सुनाए । आज 'राेज डे' मनाउँदै प्रणय दिवस सप्ताह सुरु भएको छ ।

प्रणय दिवस अर्थात भ्यालेनटाइन्स डे फेब्रुअरी १४ तारिखमा मनाइन्छ । कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने एसाेसियसनले जनाएकाे छ । प्रणय दिवसमा मात्रै रातो गुलाबको कारोबार तीन करोड ५० लाख रुपैयाँकाे हुने उनकाे अनुमान छ । रातो गुलाब विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिक रुपमा खेती गरिन्छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको एसाेसियसनले जनाएकाे छ । नेपालमा व्यावसायिक रुपमा चार सय ५० प्रजातिका गुलाब उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?