नयाँ अर्थमन्त्रीको आगमनसँगै बजारमा उत्साह : शेयर बजार १३ अंकले बढ्यो

काठमाडाैँ । सेयर बजारले नयाँ अर्थमन्त्रीको रुपमा स्वागत गरेको छ । एकीकृत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नयाँ अर्थमन्त्रीको रुपमा भित्रिएपछि नेप्से बुधबार ९.३३ अंकले बढेकोमा बिहीबार १३.५१ अंकले बढेको हो । यसअघि सत्ता समीकरणमा आएको फेरबदलका कारण सोमबार ६ प्रतिशत अर्थात ११७ अंकले बढेर बीचमकै रोकिएको बजार मंगलबारभने ७० अंक बढीले घटेको थियो ।

नयाँ गठबन्धनको रुपमा भित्रिएका नयाँ अर्थमन्त्रीले कार्यभार सम्हाल्दै सेयर बजारमा रहेको ६१ लाख लगानीकर्ताको लगानी सुरक्षालाई ध्यान दिने प्रतिबद्धता जनाएपछि बजारले सकारात्मक रुपमा लिएको हो ।

बिहीबारको वृद्धिसँगै नेप्से २०३०.५५ विन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.९० अंक, फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये १० ओटा बढेको छ भने ३ ओटा घटेको छ । निर्जीवन बीमा सर्वाधिक १.५६ प्रतिशत बढ्दा जलविद्युत १.१४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड, व्यापार र होटल तथा पर्यटन घटेको छ ।

आज ३०९ कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ४७ हजार ६९९ ओटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ सेयर कारोबार भएको थियो ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बिहीबार १० प्रतिशत बढेर ३४९ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ८.९७ प्रतिशत, मध्य भोटेकोशीको सेयरमूल्य ६.०८ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.९६ प्रतिशत र हाथवे इन्भेष्टमेन्ट नेपालको ५.६४ प्रतिशतले बढेको छ ।

यस दिन एनआईसी एशिया ग्रोथ फन्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ । सामलिङ्ग पावरको ५.०२ प्रतिशत, बोटलर्स नेपाल तराईको ४.३५ प्रतिशत, एनएमबि ५० को इकाई मूल्य ३.८८ प्रतिशत र हिमालयन ८०–२० को ३.८५ प्रतिशतले बढको छ ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार रकमका आधारमा यस दिन शीर्ष स्थानमा छ । कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो नाममा रहेको नेपाल रिइन्स्योरेन्सको २० लाख कित्ता संस्थापक सेयर ब्रोकर नम्बर १६ बाट लक्ष्मी सनराइज बैंकलाई बेचेको छ। ब्रोकर नम्बर४९ बाट बैंकले उक्त सेयर प्रतिकित्ता २८१ रुपैयाँमा खरिद गरेको हो ।

त्यसैगरी शिवम् सिमेन्ट्सको १६ करोड ४१ लाख, सोनापुर मिनरल्सको १३ करोड ४१ लाख, मोलुङ्ग हाइड्रोपावरको १३ करोड ३७ लाख र हाथवे इन्भेष्टमेन्टको ९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार बजार वृद्धिपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार कुल बजार पुँजीकरण ३१ खर्ब ७० अर्ब ५० करोड ६६ लाख ९५ हजार रुपैयाँ थियो । आज मात्रै २१ अर्ब २५ करोड १२ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्