धितोपत्र बोर्डका अध्यक्षका लागि चार जनाको आवेदन कसकाे हाेला त पल्लाभारी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष रमेश हमाल आफ्नो २१ महिने कार्यकाल सकेर बिदाई भएको करिव ३ महिना पछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बागडोर समाल्न मंगलवारसम्म ४ जनाको आवेदन परेको हो।

तत्कालिन बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय डा.नबराज अधिकारी र कृष्ण पोखरेलले आवेदन दिएका हुन । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठले पनि आवेदन दिएका छन् ।

बोर्डमा अध्यक्षका लागि फागुन ३० गते (आज) सम्म आवेदन दिने समय रहेको हुनाले अन्तिम समयमा अन्य आवेदकहरुको पनि आवेदन दिने सम्भावना बढी नै रहेको छ ।

यस अघि २०७८ सालमा बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन पेश गरेका थिए। तर अहिले बाहिर बजारको प्रचारमा ६ ,७ जना भन्दा बढीको नाम सुनिएको छैन् । यदपि,भित्रि रुपमा लबिङ्ग गर्नेको सङ्ख्या पनि ठुलै छ।

नयाँ स्टक एक्स्चेन्ज सञ्चालनको अनुमतिको पर्खाइमा बसेका व्यावसायिक घरानाका टकरावका कारण बोर्डको अध्यक्ष पदका लागि ठुलै चलखेल हुने सम्भावना बढेर गएको देखिन्छ । स्रोतका अनुसार नयाँ स्टक एक्स्चेन्ज सञ्चालनको अनुमतिका लागि आवेदन दिएका ३ ठुला कम्पनी हिमालयन स्टक, नेशनल स्टक र अन्नपूर्ण स्टकले लाइसेन्स हत्ताउनका लागि आफु निकटका एसम्यान अध्यक्ष ल्याउनका लागि विभिन्न व्यक्तिहरुलाई अगाडी सारेर छलफल चलाइरहेका छन्। उनीहरु कुनै पनि हालतमा लाइसेन्स लिने दाउमा छन्। यी कारणले गर्दा पनि यो पालि बोर्डको अध्यक्षको लागि कसको सम्भावना बढी छ अहिले नै भन्न सकिने अवस्था छैन्।

मार्केटमा अहिले अध्यक्ष बन्न बाहिरी माहोल बनाइरहेका मध्ये तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेको अहिलेका जीएम कृष्ण कार्की, यस्तै बोर्डकै पहिलो नम्बरका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तेस्रो नम्बरका कार्यकारी मुक्तिनाथ श्रेष्ठ र चौथो नम्बरका कार्यकारी कृष्णराज पोखरेलको नाम चर्चामा आएको छ ।

अहिले चर्चामा आएका आकांक्षी मध्य चिरञ्जीवी चापागाईं नेकपा ( माओवादी) केन्द्रनिकट मानिन्छन्। कृष्णबहादुर अर्थमन्त्री हुँदा चापागाईंलाई तत्कालीन बीमा समितिको अध्यक्ष बनाएका थिए। स्रोतका अनुसार चापागाईंलाई नयाँ लाइसेन्स लिने प्रक्रियामा रहेका समुहको पनि सहयोग रहेको छ। हाल माओवादीले नै सरकारको नेतृत्व गरिरहेको कारण चापागाईंको पनि सम्भावना बलियो देखिएको जानकारहरुले बताएका छन्। त्यस्तै बोर्डकै चौथो नम्बरका कार्यकारी कृष्णराज पोखरेल पोखरेल पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

यसबाहेक प्रतिस्पर्धीका रूपमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठको नाम पनि अध्यक्षको दावेदारको लागि आएको छ।

यस अघि अर्थ मन्त्रालयले २०७८ पुस १५ मा अध्यक्ष पदको लागि आवेदन माग गर्दा १५ जनाले आवेदन दिएका थिए। त्यतिबेला आवेदन दिनेहरू डा.गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेशकुमार हमाल, सीताराम थपलिया, डा.केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल थिए।

बोर्ड अध्यक्ष छनोट समिति राष्ट्रिय योजना आयोगका सम्बन्धित सदस्य संयोजक रहने तथा अर्थसचिव र विज्ञ सदस्य रहने प्रावधान छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्