बझाङको ऐतिहासिक भोपुर दरबार दिनानुदिन जिर्ण बन्दै

 कृष्णानन्द भट्ट 

बझाङ : तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावको कारण जिर्ण बनेको छ। गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट थप क्षति पुगेपछि सयौं वर्ष पुरानो यो दरबार झन् संकटबाट गुज्रिए रहेको छ।

बझाङ जिल्लाको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा सुपरिचित दरबार यतिबेला बेवारिसे भएपछि स्थानीय वासिन्दाले निकै  चिन्तित भएका छन्। राज्यले यस्ता ऐतिहासिक दरबार संरक्षण गर्नुको सट्टा बेवास्ता गरेको छ। वि।स।१९९० सालमा बझाङी राजा देबी जंग बहादुर सिंहले भारतको कलकत्ताबाट इन्जिनियर ल्याएर भोपुरस्थित दरबार निर्माण गरेको इतिहासमा उल्लेख छ।

हाल जिर्ण अवस्थामा रहेको यो ऐतिहासिक दरबारको जिर्णोद्धार गर्न नसके एतिहासिक अस्तित्व नै संकटमा पर्ने चैनपुरका स्थानीय बताउँछन्। वि.सं.२०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेनाको ब्यारेक हेमन्तवाडामा सरेपछि दरबार झन् बेवारिसे भएको हो। वि.सं. २०६० सालमा तत्कालीन विद्रोहीहरुले दरबारमा आगजनी गर्दा स्थानीयवासीले आगो निभाएकोले दरबार ठुलो क्षति जोगिएको थियोे। सरोकारवालाले यो दरबारको संरक्षणमा खासै चासो नदेखाएकोले यसको अस्तित्व दिनदिनै घट्दै गएको छ भने दरबार झन् झन् जीर्ण हुदै गएको छ। दरबारका भित्तामा चिरा परेका छन् भने पर्खालमा प्वाल परेका छन्। ऐतिहासिक पुरातात्विक वास्तुकलाबाट निर्माण गरिएकोे यो दरबार पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण निकै मानिन्छ।

वि.सं. २०६३ सालको शान्ति सम्झौतापछि नेपाली सेनाको एउटा टुकडी भोपुरमा वसेको थियोे तर यतिखेर दरबार जीर्ण भएपछि सेना आफ्नो नयाँ भवनमा बसेको छ। यतिखेर सेनाले रेखदेख गर्दै आएता पनि यसको जिर्णद्वार हुन सकेको छैन्। दरबारको मर्मत गर्न स्थानीयले दबाब दिएको छ। बाहिरी जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएको प्रति चिन्ता गरेका छन्।

बेलैमा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न नसके पछुताउनुको विकल्प हुदैन। काठमाडौबाट दरबार अवलोकनका लागि गएको टोलिको यहीँ गुनासो थियोे। यसको उचित संरक्षण र जिर्णोद्धार हुन सके जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै टेवा पुग्ने थियोे। दरबारको जिर्णोद्धार गरी बझाङको परम्परागत जीवनशैली र संस्कृति झल्किने गरी संग्राहालयको रुपमा विकास गर्नुपर्ने यस्थानीय बासिन्दाको माग छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?