समूह विजेता बन्दै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा,अबको खेल यूएईसँग

काठमाडौं : एसीसी प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो । यो जितसँगै चार खेलबाट ८ अंक जोडेको नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । पराजित भएको साउदी प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा पूरा गर्यो ।

वर्षाका कारण ढिला सुरु भएको खेल ८ ओभरमा झारिएको थियो । खेलमा नेपालका गुल्सन झाले ३२, दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहितकुमार पौडेलले १७ रन बनाए । साउदीका इस्तिक अहमदले दुई तथा उस्मान नजिब र वाजी अल हसनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ७३ रन जोडेको थियो । साउदीका अब्दुल वाहिदले ३७ रन बनाएका थिए अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका अविनाश बोहरा र करण केसीले दुई–दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले एक–एक विकेट लिएका थिए । यसअघिका खेलमा नेपालले मलेसिया, कतार र हङकङलाई हराएको थियो । साउदी पराजित भएसँगै हङकङ समूह उपविजेता बन्दै सेमिफाइलनका लागि छनोट भएको छ ।

यसैविच, एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११: ४५ बजे हुने तय भएको छ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल शुक्रबार अपराह्न ४स्१६ बजे हुने तय भएको छ । सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आइतबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?