अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने , पर्यटनमन्त्रीको संयोजकत्वमा समारोह समिति गठन

कृष्णानन्द भट्ट 

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ। आगामी १६ जेठमा १७ औँ अन्तर्राष्ट्रिय दिवस सगरमाथाकै क्षेत्रमा नै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयेन मन्त्रालयले जनाएको छ।

सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सो अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागेको हो। पर्यटन मन्त्रालयका अनुसार  अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रमको साथ धुमधामले मनाउने भएको छ।  दिवसलाई सफल बनाउन पर्यटनमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ।

सो समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिवको समेत सहभागीता रहेको छ। समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरी दिवस तयारी उपसमिति मार्फत काम गरिरहेको छ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताएका छन्। 

विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको छ। सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा पाइला राखेका थिए। सोही आरोहणलाई स्मरण गरि सन् २००८ देखि सगरमाथा अन्तर्राष्ट्रिय दिवस मनाईदै आएको छ।

नेपाल पर्वतारोहण संघको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन क्षेत्रसँग आबद्ध संस्थाको समन्वयमा सो कार्यक्रम गरिने भएको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म आठ हजार पर्यटकहरुले सगरमाथा आरोहण गरिसकेका छन्। विश्वका १४ अग्ला हिमाल मध्ये विश्वकै सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?