सडक बालबालिका मुक्त बनाउने अभियानमा लागौं : मन्त्री चौधरी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन्। परिषद्का अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउन योजनाबद्धरुपमा लाग्न निर्देशन दिएकी हुन्।

मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहने गरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिँदै सिस्टमेटिक हिसाबले यो संरचनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।  

‘अब सडकमा बालबालिका देखिनुहुँदैन। अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ’, उनले भनिन्, ‘यो विषयमा हामी काम गरौँ। यदि सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल संगठनहरू छन्। त्यसकारण हाम्रो कमिटमेन्ट पनि नयाँ परिमार्जनको कुरामा हुनुपर्छ। अब सडकमा बालबालिका भेटिनु हुँदैन।’

बैठकले देशभरि सन्देश जाने हिसाबले बालबालिकाका लागि के-कस्ता काम गर्ने ? कसरी काम गर्ने ? जस्ता  विषयमा योजना बाहिर ल्याउने निर्णय गरेको छ। 

बैठकले बालगृह,बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन् , त्यो समस्याहरूका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा बैठकले निर्णय गरेको छ।

यस्तै बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर समेत गरेको छ। जसअनुसार समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको हो। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?