नवलपुरमा पानीको माग गर्दै संसारीमाईको पूजा

लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् ।  जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रुपमा संसारीमाईको पूजा गरिएको हो । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि संसारीमाईको पूजा गरिएको हो ।

स्थानीय मैना श्रेष्ठले वैशाखको आधा महिना जादा समेत यहाँ पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै संसारीमाईको पूजा गरेको बताइन् । 

यस संसारीमाईको पूजाआजा गर्दा सुरुमा गाउँको तर्फबाट एउटा पाठो बलि दिने गरिन्छ । लामो समयसम्म खडेरी परेकाले बलि दिएमा पानी पर्ने जनविश्वास रहेको छ । गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको अन्नबाली सुक्दै जान थालेकाले पूजा गरिएको सन्तोषी घर्तिले बताइन् ।

परापूर्वक कालदेखि नै लामो समय पानी नपरी खडेरी हुँदा देवतालाई पूजा गर्दा पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको प्राध्यापक शालिकराम कोईरालाले बताए।  समय अनुसार परिवर्तन भएपनि परापूर्वकालदेखि गर्दै आएको संस्कृति अनुसार पूजा गर्ने प्रचलनलाई निरन्तरता दिएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्